राजमार्ग छेउका पोल जीर्ण, दुर्घटनाको जोखिम

२८ कार्तिक, रौतहट । विद्युत् प्राधिकरणले लाइन वितरणका लागि राजमार्ग छेउमा गाडेका पोल ढल्ने अवस्थामा पुगेका छन् । चन्द्रनिगाहपुर–गौर खण्डका सिमेन्ट पोलहरू ढल्न लागेका हुन् । यसले दुर्घटनाको जोखिम बढाएको छ ।

प्राधिकरणले चन्द्रनिगाहपुर सबस्टेसनबाट सदरमुकाम गौर र भित्री गाउँसम्म यस्ता पोलहरू गाडेको छ । राजमार्ग छेउका दर्जनौं पोलहरू बाँगो भएका छन् । एक दशकअघि भूमि जलस्रोतले उक्त पोल गाडेको हो । पोल ढल्केर ढल्न थाले पनि प्राधिकरणले वास्ता नगरेको स्थानीयको भनाइ छ ।

frontline

केही पोलहरू सडकको मापदण्डभित्र पर्ने हुँदा सडकले हटाउन भन्दै आएको छ । विद्युत् सप्लाई भइरहेका बेला पोल ढल्यो भने ठूलो दुर्घटना हुने बृन्दावनका नगरप्रमुख रामस्नेही यादवले बताए । सिधा पोल ढल्केर भुइँ छुन लागिसक्यो,’ उनले भने, ‘समयमा मर्मत, सिधा पार्ने वा अर्को राख्न सके समस्या आउँदैनथ्यो । ढिला गरे दुर्घटना हुन सक्छ ।’ उनले प्राधिरकणलाई यथासक्य समस्या सुल्झाउन अनुरोध गरे ।

अधिकांश पोलहरू सडककै छेउमा गाडिएकाले त्यहाँ खाडल बनेको छ । वर्षाका बेला पानी जमेर कमजोर भएको प्राधिकरणकै कर्मचारीहरू बताउँछन् । यसको मर्मत वा अर्को पोल्न हाल्न केही समय लाग्ने प्राधिकरणले जनायो । प्राधिकरणको गौर शाखाले अहिले धानको सिजन भएकाले पोलको काम गर्न समस्या हुने बताएको छ ।

प्राधिकरणको चन्द्रपुर शाखाका प्रमुख सत्यनारायण गामीले राजमार्ग छेउको पोलहरू ढल्न थालेको पाइएकाले चाँडै सिधा गर्ने वा अर्को राख्ने तयारीमा लागेको बताए । ‘पोलहरू ढल्केर ढल्ने अवस्थामा पुगेको हामीले देखेका छौं,’ उनले भने, ‘यसलाई चाँडै सल्टाउँछौं । हामी अनुगमन गर्दै छौं ।’

जिल्लामा अहिले प्राधिकरणका गौर, मौलापुर र चन्द्रनिगाहपुर गरी तीन वटा शाखाहरू छन् । गौरमा विद्युत उपभोग गर्ने ग्राहक संख्या ४९ हजार पुगेको छ । चन्द्रनिगाहपुरमा २० र मौलापुरमा १२ हजार रहेको प्राधिकरणले जानकारी दिएको छ । यी क्षेत्रमा विद्युत् आपूर्ति गर्न चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ र ११ हजार केभीका दुई वटा पोल सदरमुकाम गौरसम्म लगिएको छ । सिमेन्ट पोलहरू ढले अर्को हाल्नुपर्छ । समयमा सिधा पार्न सके समस्या नहुने प्राधिकरणले जनायो ।

गरुडाका सन्तोष जैसवालले सडक छेउका पोलहरू ढल्न थालेको ५ वर्ष बढी समय हुँदा पनि प्राधिकरणले बेवास्ता गरेको आरोप लगाए । ‘पोलहरू ढलेपछि समस्या हुन्छ । यसले कुनै पनि बेला दुर्घटना हुन सक्छ,’ उनले भने, ‘समयमा कुनै काम हुँदैन । घटना भएपछि मात्र सक्रिय हुने बानी बसेको छ ।’

प्राधिकरणले एउटा पोल हाल्न एक दिन लाग्ने जनाएको छ । पोल हाल्ने समय धेरै समयसम्म विद्युत् अवरोध हुन्छ । अहिले ४२ किलोमिटर र भित्र गाउँमा कति पोलहरू ढल्न थाल्यो भन्ने प्राधिकरणसँग तथ्यांक छैन । गौर शाखा प्रमुख विजय महतोले कहाँ/कहाँ पोल ढल्न लागेको भन्ने आफूलाई जानकारी नै नभएको सुनाए । केही स्थानमा पोल ढल्केको भन्ने सुनेको छु,’ उनले भने, ‘त्यस्तो पोलमा लाइन सप्लाई भएको छैन । धान बाली भित्र्याइसके पछि बनाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here