जथाभावी राखिएका ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने ३ दर्जन बढीलाई कारवाही

श्रोत : ईन्टरनेट

२७ कार्तिक, ललितपुर । ललितपुर महानगरले शहरी सुन्दरता बिगार्ने उद्देश्यले विभिन्न स्थानमा राखिएका ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने ३ दर्जन बढीलाई कारवाही गरेको छ।

कारबाहीबाट हालसम्म १ लाख भन्दा बढी रकम जरीवाना असुल गरिएको महानगरले जानकारी दिएको छ।

frontline

केही समयदेखि नै महानगरपालिकाले जथाभावी पोस्टर–पम्प्लेट नटाँस्नका लागि आग्रह गरे पनि अटेर गरी टाँस्नेलाई कारबाही गरिरहेको छ। 

शिक्षण संस्था, सहकारी, इन्स्टिच्युट, कुकुर हराएको सूचना, सीपमूलक तथा व्यावसायिक तालीम दिने संस्था र वैदेशिक अध्ययनमा पठाउने संस्थाले यसप्रकारको प्रचार सामग्री वितरण गर्ने गरेको पाइएको छ।

महानगरको वातावरण विभागका अधिकारी र नगर प्रहरीको टोलीले अहिले नियमितरुपमा अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए।

अनुगमनका क्रममा पुल्चोक, जावलाखेल, ग्वार्को, लगनखेल, मंगलबजार क्षेत्रबाट पोस्टर टास्नेलाई नियन्त्रणमा लिएर जरीवाना तिराइएको हाछेथुले बताए।

टाँसिरहेका र टाँस्ने तयारीमा रहेका सबैलाई पक्राउ गरेर सम्झाउने तथा कारबाहीस्वरुप जरिवाना रकम असुल गरिएको नगर प्रहरीले जनाएको छ। 

यस्तो कार्य गर्नेबाट महानगरले ५ हजारदेखि देखि १० हजारसम्म असुल गर्ने गरेको छ। 

पछिल्लो समय महानगरका सडक सफा र चिटिक्क छन्। अनि छेउमा रहेका बिजुलीका पोलहरू हरियो रंगले रंगिएका छन्।
महानगरले सूचना निकालेर कारबाही गर्न थालेपछि पछिल्लो समय पोष्टर पम्प्लेट टास्ने क्रम कम भएको महानगरपालिकाले जनाएको छ।

‘हामीले पर्चा पम्प्लेट टाँस्नेलाई जरीवाना तिराएर कारबाही गर्न थालेपछि अहिले यो क्रम कम भएको छ’, नगर प्रहरी प्रमखु सिताराम हाथेछुले भने,‘आफ्नो नगर आफैं सफा गरौं भन्ने बुझाई नगरवासीमा भएको पाएको छु।’

ललितपुर महा–नगरपालिका प्रमुख चिरिबाबु महर्जनले पुराना विज्ञापन हटाएर रङरोगन कार्यक्रमको सुरूआत गर्दै सफा र सुन्दर महानगरको परिकल्पना गरेका हुन्।

महर्जनले पोलमा राखेका विभिन्न कम्पनीहरूका पोस्टर र विज्ञापन हटाएर हरियो रंग लगाउँदै ललितपुर नगर प्रहरीलाई यसको सम्पूर्ण सुरक्षा र कारबाहीको अख्तियारी दिएका थिए।

‘सहरलाई पृथक देखाउन, हरियाली प्रवर्धनमा सहयोग पुर्‍याउन र पोलमा जथाभावी पम्प्लेट टाँस्न आउनेलाई झस्काउन यो काम गर्न लागेका हौं,’ महानगर प्रमुख महर्जनले भने, ‘महानगरको निर्णयलाई नटेर्नेमाथि कडा कारबाही गरिनेछ।’

महानगरपालिकाले ललितपुरका चक्रपथदेखि भित्री सडकको बीच र दायाँबायाँ रहेका बगैँचा सजाउनेदेखि बिजुलीका पोल सरसफाई अभियान पनि चलाइरहेको छ। 

थापाथलीदेखि भैसेपाटी तथा बल्खुदेखि बालुमारीसम्मको सडक क्षेत्रका बगैँचा चिटिक्ट बनाउनुका साथै सडकमा रहेका बिजुलीका पोल, टेलिफोनका पोल तथा अन्य पोलहरू हरियो रंग पोतेर चिटिक्क बनाउन थालिएको हो।

घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल) मा पम्प्लेट र पोष्टर टाँस्न नदिने गरि सडकलाई सफा र बगैंचालाई चिटिक्क बनाइराख्ने अभियानलाई तिब्रता दिएको छ।

चिटिक्क परेको महानगरमा शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न नदिने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।

हाछेथुका अनुसार यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ। ‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई नगरको नियम अनुसार कारवाही गछौं,’ उनले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन अब हामी विशेष योजनाका साथमा आएका छौं।’

शहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बार, बसपार्क, बस स्टपलगायतका सार्वजनिक स्थलभरि पोष्टर र पम्पेटको बिगबिगी हटाएको दाबी गर्दै उनले अब त्यसरी पोस्टर पम्प्लेट टाँसिएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए।

यसअघि महानगरले महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसप हटाउनुका साथै सडकका पेटीलाई व्यवस्थित बनाइसकेको छ।

त्यस्तै, नग्न तस्वीर राखिएका विज्ञापन र मादक पदार्थका होर्डिङ बोर्डलगायतले ऐतिहासिक संस्कृतिको थलो ललितपुर क्षेत्र कुरूप बनाएको भन्दै नगर प्रहरीले त्यस्ता बोर्डहरू हटाएर सफा बनाइसकेको छ।

यस्तै यसअघि विभिन्न कम्पनीको विज्ञापन राखेका ट्याक्सी चालकलाई ललितपुर महानगरपालिकाले नियन्त्रणमा लिएर करको दायरामा ल्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here