नकुन्नी धोबी मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सात जना पक्राउ

२३ कार्तिक, नेपालगन्ज । नेपालगन्जकी नकुन्नी धोबी मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार जिल्ला अदालत बाँकेबाट जारी भएको पुर्जीका आधारमा सात जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्याम अधिकारीले जानकारी दिए।

frontline

पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, विरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह छन्। बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण छाडेको अधिकारीले बताए। ‘पक्राउ पुर्जी जारी भएको थियो। उहाँहरू आफैं आउनुभएको हो,’ उनले भने।

उनीहरूमाथि थप अनुसन्धान गर्न अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति पाएको प्रहरीले बताएको छ। 

यसअघि बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका थिए। पीडितको न्यायका लागि भन्दै नेपालगन्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्यले माइतीघरमा धर्ना दिएका हुन्। पीडित परिवारले धोबी र कुर्मी दुवैको हत्यारालाई कारबाहीको माग गरेका छन्।

नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भए पनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले कारबाहीको माग गरी असोज १ देखि नेपालगन्जबाट पैदल यात्रा गरेका थिए।

दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न पनि उनीहरूले माग गरेका छन्।

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झूटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुर्व्यवहार गरेको बताएका थिए।

उनीहरूको यो आन्दोलनपछि यसबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समित गठन गरिएको थियो। उक्त समितिले कात्तिक १५ गते गृहमन्त्री बालकृषण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले छानबिनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका थिए। समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नकुन्नी धोबीको मृत्यु प्रकरणमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जिल्ला प्रहरी कार्यालय बाँकेमा  जाहेरी दिएको उल्लेख छ।

प्रतिवेदनमा जाहेरीपछि अनुसन्धान भएर दुवै आरोपी हाल पुर्पक्षका लागि थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको जनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका–१७ का निर्मला कुर्मीको बेपत्ता प्रकरणमा भने जग्गाको कुरा जोडिएको प्रतिवेदनले औँल्याएको छ।

समितिले कुर्मीको घटनामा सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गरी अनुसन्धान गर्न सिफारिस गरेको छ।

समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य थिए।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here