विवेकशील पार्टी विवादमुक्त,एकताबद्ध भएको भए आगामी चुनावमा काठमाडौँमा के हुन्थ्यो होला ?
२२ कात्तिक, काठमाडौँ । हरेक आम चुनावमा काठमाडौँ उपत्यकाको रूझानले विशेष अर्थ राख्छ । देशैभरिको जनमत कुन पार्टीतर्फ प्रवाह भइरहेको छ भन्ने थाहा पाउन काठमाडौँको प्रवाहले विशेष अर्थ राख्ने गरेको छ । त्यसैले, जब–जब चुनावको मौसम सुरू हुन्छ, काठमाडौँको जनमत कतातिर ‘स्विङ’ भइरहेको छ भनेर विश्लेषण गर्ने चलन छ ।
देशमा अहिले नै निर्वाचनको मौसम सुरू भइसकेको छैन । तथापि केही महिनापछि स्थानीय तहको चुनाव हुन लागेको छ । त्यो भन्दा अघि नै प्रतिनिधिसभाका चार सिट र प्रदेशसभाका १८ सिटमा उपचुनाव हुँदैछ । बागमती प्रदेशमा पनि स्व. सांसद पशुपति चौलागाईको सिटमा उपचुनाव हुँदैछ ।
काठमाडौँमा आगामी निर्वाचन कसले जित्ला वा हार्ला भनेर विश्लेषण गरिहाल्ने बेला भएको छैन । तर, २०७४ सालको चुनावको आँकडालाई हेरेर काठमाडौँको जनमतको विश्लेषण गर्नु असान्दर्भिक चाहिँ पक्कै नहोला । किनभने, नेकपा विभाजित बनेको र काठमाडौँमा तेस्रो शक्तिका रूपमा स्थापित भएको विवेकशील साझा पार्टीमा देखा परेको विवादका कारण काठमाडौँको राजनीतिक शक्ति सन्तुलन रोचक मोडमा पुगेको अवस्था छ ।
काठमाडौँको अर्को रोचक पक्ष के छ भने ०६४ सालदेखि ०७० सालसम्म काठमाडौँमा जनमत बढाउँदै लगेको कमल थापा नेतृत्वको राप्रपा अहिले खुम्चिएको छ । र, राष्ट्रिय राजनीतिमा तेस्रो शक्तिका रूपमा रहेको नेकपा माओवादी केन्द्र चाहिँ काठमाडौँमा विवेकशील साझा पार्टी भन्दा सानो दलका रूपमा रहेको अवस्था छ ।
संघीय राजधानीको केन्द्रका रूपमा रहेको काठमाडौँको राजनीतिमा देखिएका यिनै मौलिक विशेषताहरूका आधारमा ०७४ को चुनावी परिणामबारे एक चोटि रिभ्यु गर्नु अहिले सान्दर्भिक नै हुने देखिन्छ । प्रतिनिधिसभामा १० वटा सिट काठमाडौँ जिल्लामा मात्रै भएकाले पनि यहाँको जनमत सबैका लागि चासोको क्षेत्र हो ।
उपत्यकाका अन्य जिल्ला ललितपुर र भक्तपुरलाई समेत जोड्ने हो भने संघीय संसद्मा यहाँबाट १५ जनाको प्रतिनिधित्व हुनेछ । जबकि ०७४ को चुनावमा नेकपाले उपत्यकाका तीन जिल्लाबाट १५ मध्ये १० वटा सिट जितेको थियो भने काँग्रेसले ४ सिटमात्र जितेको थियो ।
नेकपाले ०७४ को चुनावमा काठमाडौँबाट ६, ललितपुरबाट तीन र भक्तपुरबाट एक सिट जितेको थियो । यीमध्ये एक माओवादी र ९ सिटमा एमालेले साझेदारी गरेका थिए ।
काँग्रेसले काठमाडौँबाट ४ सिट जितेको थियो भने बाँकी भक्तपुरको एक सिट नेमकिपाले जितेको थियो । काठमाडौँ जिल्लामा काँग्रेस र एमालेले ६०/४० को अनुपातमा जित हात पारेका थिए ।
२०७४ को चुनावमा एमाले काठमाडौँबाट ६ सिटमा विजयी हुँदा एक स्थानमा दोस्रो बनेको थियो । काँग्रेस १० मध्ये ४ सिट जित्दै गर्दा ५ स्थानमा दोस्रो बनेको थियो ।
काठमाडौँमा प्रत्यक्षतर्फ प्रमुख तीन दलको भोट
काठमाडौँमा एमालेको साथ लिएर चुनाव लडेको माओवादी दुई स्थानमा दोस्रो र एक स्थानमा तेस्रो बनेको थियो । विवेकशील साझा पार्टी एक स्थानमा दोस्रो र ८ स्थानमा तेस्रो शक्ति बनेको थियो । तर, समानुपातिकतर्फको मतमा विवेकशील साझाले माओवादीलाई झण्डै दोब्बरले पछि पारेको थियो ।
विवेकशील साझा पार्टीका नेताहरुको दाबीअनुसार ०७४ को चुनावमा काठमाडौं १ मा रवीन्द्र मिश्र दुई कारणले हारेका हुन् : एक–प्रकाशमान र माधव कुमार नेपाल (काठमाडौं २) वीच अघोषित गठबन्धन बनेर मत साटासाट भएको थियो । दुई– क्षेत्र नम्बर १ का सुकुम्बासीहरूको भोट पैसामा किनबेच भएको थियो । यी दुई फ्याक्टरले काम नगरेको भए काठमाडौं १ मा मि?ले चुनाव जित्ने सो पार्टीका नेताहरुको तर्क छ ।
अहिले पार्टीभित्र आन्तरिक विवाद देखिए पनि मिश्रले संघीयता र धर्मनिरपेक्षताको विपक्षमा आफूलाई उभ्याएका कारण काठमाडौंमा आगामी चुनावमा पहिलेको भन्दा बढी भोट ल्याउने सो पार्टीका नेताहरुको दाबी छ । ०७४ मा देशभरबाट २ लाख भोट ल्याउँदा विवेकशील साझा पार्टीले काठमाडौं जिल्लाबाट मात्रै ६१ हजार मत बटुलेको थियो ।
काठमाडौँ जिल्लामा एमालेले समानुपातिकतर्फ १ लाख ४७ हजार ४९६ मत पाएको थियो । काँग्रेसले १२२०९४ मत पाएको थियो । विवेकशील साझाले तेस्रो शक्तिका रूपमा ६१८०५ मत पाएको थियो । जबकि माओवादीले चौथो शक्तिका रूपमा ३१४३२ मत मात्रै पाएको थियो । राप्रपा गाई १४८९९ मतका साथ काठमाडौँमा पाँचौँ शक्ति बनेको थियो ।
काठमाडौँमा समानुपातिकतर्फ ५ दलको भोट
ललितपुर १ बाट एमालेका नवराज सिलवालले २६ हजार ९५१ मत ल्याउँदा काँग्रेसका उदय शमशेर जबराले २०७२९ भोट ल्याएका थिए ।
त्यस्तै ललितपुर २ नम्बर क्षेत्रमा एमालेका कृष्णलाल महर्जनले २७ हजार ७१३ ल्याउँदा काँग्रेसमा चन्द्र महर्जनले १६ हजार ९४५ मत पाएका थिए । तेस्रोमा विवेकशील साझाका अमिरराज महर्जनले ५४०८ मत ल्याएका थिए ।
ललितपुर ३ मा माओवादी नेतृ पम्फा भुसालले २४०३६ भोट ल्याउँदा काँग्रेसका मदनबहादुर अमात्यले २२३२८ मत पाएका थिए । यहाँ विवेकशील साझाका उम्मेदवार ७६२८ मत पाएका थिए ।
भक्तपुर १ मा नेमकिपाका प्रेम सुवालले ३३ हजार ७६ मत ल्याउँदा काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत पाएका थिए । माओवादीले यहाँ एमालेको समर्थनमा १५ हजार ३७४ मत पाएको थियो । यहाँ विवेकशीलको २ हजार ३३० मत आएको थियो ।
भक्तपुर २ मा एमालेका महेश बस्नेतले माओवादीको समर्थनमा ३६ हजार ४१२ मत पाउँदा काँग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६७८ मत पाएका थिए । नेमकिपाकी अनुराधा थापा मगरको ५ हजार ४७१ आएको थियो भने विवेकशील साझाको १ हजार ७८४ मत आएको थियो ।
काठमाडौंबासीले कसलाई रोज्लान् ?
काठमाडौँका मतदाताहरू प्रायः अग्रगमनका पक्षधर भनेर चिनिन्छिन् । साथै यहाँका मतदाताहरूले सत्तापक्षलाई भन्दा प्रतिपक्षलाई रोज्ने गरेको पाइन्छ । यही कारणले गर्दा पञ्चायत कालमा पनि पद्मरत्न तुलाधरजस्ता जनपक्षीय उम्मदेवारहरूले जितेको पाइन्छ । त्यसो त काठमाडौँले नानीमैया दाहाललाई जिताएर शासकहरूमाथि व्यङ्ग्य गरेको चुनावी इतिहास पनि छ ।
०४६ सालको परिवर्तनपछिको इतिहास हेर्दा काठमाडौँले कहिले वामपन्थी जनमतलाई त कहिले काँग्रेसलाई रोजेको पाइन्छ । ०६२/०६३ को परिवर्तनपछि यहाँका जनताले माओवादीलाई पनि जिताएको रेकर्ड छ । तर, संविधान बन्न नसकेपछि काँग्रेस र कम्युनिस्टप्रति दिक्क बनेर काठमाडौँका जनताले समानुपातिकमा गाईलाई पहिलो बनाएको पनि रेकर्ड छ ।
यही क्रममा २०७४ को चुनावमा ६१ हजार भन्दा बढी मत दिएर काठमाडौँका जनताले विवेकशील साझा पार्टीलाई काठमाडौँको तेस्रो राजनीतिक शक्ति बनाएका थिए । काठमाडौँ क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र काँग्रेस नेता प्रकाशमान सिंहसँग ८१८ मतको साँघुरो अन्तरले मात्र हारेका थिए । यो चुनावमा काठमाडौँका ९ वटा क्षेत्रमा विवेकशील साझा पार्टी माओवादीलाई जितेर तेस्रो शक्ति बनेको थियो ।
अहिले प्रश्न उठेको छ– विवेकशील साझा पार्टी विवादमुक्त वा एकताबद्ध भएको भए आगामी चुनावमा काठमाडौँमा के हुन्थ्यो होला ? र, अर्को प्रश्न पनि छ – काठमाडौँमा ६०/४०को साझेदारी गरेका एमाले र काँग्रेसले आगामी चुनावमा के गर्लान् ? काठमाडौँ ७ मा काँग्रेससँग मिलेर विक्रम थापालाई जिताउनका लागि ९ वटै क्षेत्रमा उम्मेदवारी नदिएको राप्रपाले यस चोटि कोसँग तालमेल गर्ला ?
हेर्नुहोस् ०७४ को प्रत्यक्षतर्फको परिणाम
काठमाडौँ– १
प्रकाशमान सिंह, काँग्रेस १०९३६
रवीन्द्र मिश्र, विवेकशील साझा १०११८
अनिल शर्मा, माओवादी ५३३६
काठमाडौँ– २
माधवकुमार नेपाल, एमाले २७३६६
दीपक प्रसाद कुइँकेल काँग्रेस, १४९०३
सूर्यराज आचार्य, विवेकशील साझा ७४३७
काठमाडौँ– ३
कृष्णबहादुर राई, एमाले १९१६९
अम्बिका बस्नेत, काँग्रेस १४८८४
सुमित्रा सिंह लामा विवेकशील साझा २२०५
काठमाडौँ– ४
गगन थापा, काँग्रेस २१५५८
राजन भट्टराई, एमाले १८१४०
सुबुना बस्नेत विवेकशील साझा ३०४०
काठमाडौँ– ५
ईश्वर पोखरेल, एमाले २३०२९
प्रकाशशरण महत, काँग्रेस १३१६९
उज्जवल बहादुर थापा ,विवेकशील साझा ६८५३
काठमाडौँ– ६
भीमसेनदास प्रधान, काँग्रेस १६७८५
झक्कुप्रसाद सुवेदी, माओवादी १५४८५
रमेश चिलुवाल, विवेकशील साझा ४२२५
काठमाडौँ– ७
रामवीर मानन्धर, एमाले १८१०२
विक्रमबहादुर थापा राप्रपा १००७९
अनुपा श्रेष्ठ विवेकशील साझा ५३७६
काठमाडौँ– ८
जीवनराम श्रेष्ठ, एमाले १३३९८
नवीन्द्रराज जोशी, काँग्रेस १२९५३
विवेकशील साझा ४४१४
काठमाडौँ– ९
कृष्णगोपाल श्रेष्ठ, एमाले २२८५२
ध्यान गोविन्द रञ्जित, काँग्रेस १४८०२
मिलन पाण्डे ४९४६
काठमाडौँ– १०
राजेन्द्रकुमार केसी, काँग्रेस २४१९०
हितमान शाक्य, माओवादी २१९०७
प्रदीप ढकाल, विवेकशील साझा २००३
प्रतिक्रिया दिनुहोस्