सत्तारूढ गठबन्धन पुरै समय चल्छ,कुनै शंका गर्नुपर्ने अवस्था छैन : प्रधानमन्त्री देउवा
१९ कार्तिक, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन पुरै समयसम्म चल्ने बताउनुभएको छ । विहीवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै किसिमको शंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ। प्रधानमन्त्री देउवा बेलायत भ्रमण गरी स्वदेश फर्किनुभएको हो । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहान काठमाडौं आइपुग्नुभएको हो ।
देउवालाई स्वागत गर्न गृहमन्त्री बालकृष्ण खाँडसहित मन्त्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्