बाढीपहिरो अपडेट : ७७ जनाको मृत्यु, २७ बेपत्ता
३ कात्तिक, काठमाडौं : पाँचथरमा पहिरोमा पुरिएर २४ जनाको मृत्यु भएसँगै देशैभर बाढी र पहिरोका कारण ७७ जनाको ज्यान गएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको दिउँसो ३ बजेसम्मको विवरणअनुसार देशभर बाढीपहिरोमा परी ७७ जनाको मृत्यु भएको हो । बाढी र पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् भने २२ जना घाइते भएका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पहिरोमा पुरिएर पाँचथरमा २४ जनाको ज्यान गएको छ । छ जना घाइते भएका छन् भने त्यहाँ चार वटा घरमा पूर्णरुप क्षति भएको छ ।त्यस्तै इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ । त्यहाँ तीन जना बेपत्ता भएका छन् । दुई जना घाइते भएका छन् । त्यहाँ तीन वटा घर पूर्णरुपमा क्षति भएका छन् ।
त्यस्तै डोटीमा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन भने छ घर पूर्णरुपमा क्षति भएका छन् । मन्त्रालयका अनुसार धनकुटामा सात जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । एक घर पूर्णरुपमा क्षति भएको छ । त्यस्तै हुम्लामा ६ जनाको मृत्यु भएको छ । एउटा घर पूर्णरुपमा क्षति भएको छ । पहिरोले बैतडीमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुईवटा घरमा पूर्ण क्षति भएको छ ।
कालिकोटमा एक जनाको मृत्यु भएको छ । त्यहाँ एक जना घाइते भएका छन् भने एक घर पूर्ण क्षति भएको छ । त्यस्तै डडेलधुरामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । एक घर पूर्णरुपमा क्षति भएको छ । बझाङ्गमा बेपत्ता भएका २३ जनामध्ये दुई जनाको शव भेटिएको छ भने २१ जना अझै हराइरहेका छन् ।
त्यहाँ सात वटा घर पूर्णरुपमा क्षति भएको जनाएको छ । जुम्लामा एक जना बेपत्ता भएका छन् । प्युठानमा एक जनाको बाढीका कारणले मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
बुधबार दिउँसो ३ बजेसम्मको विवरण :







प्रतिक्रिया दिनुहोस्