दसैँमा मदिरा बिक्री बन्द

महेन्द्रनगर, २९ असोज (रासस) : कञ्चनपुरमा स्थानीय प्रशासनले दसैँमा जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले दसैँको समयमा कुनै पनि आपराधिक गतिविधि नहोस् भनेर मदिरा बिक्रीमा रोक लगाइएको बताउनुभयो ।

frontline

त्यसका साथै प्रहरी जिल्लाभर चाडपर्व लक्षित सुरक्षा योजनासहित शान्ति सुरक्षामा खटिएको उहाँले बताउनुभयो । यहाँ लुकिछिपी जुवा खेल्ने समूहलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ ।

प्रहरीले मदिरा बिक्री वितरण बन्द गर्न जिल्लाभरिका प्रहरी कार्यालय र चौकीहरुलाई निर्देशन दिइसकेको छ । त्यसैगरी मदिरा नियन्त्रण अनुगमन समिति कञ्चनपुरका अध्यक्ष भगवती थापाले आफूहरु जिल्लामा मदिरा न्युनीकरण र नियमनका लागि २०६३ सालदेखि सक्रिय रहेको बताउनुभयो ।

“चाडपर्वमा हिंसात्मक घटना, चोरी डकैती बढ्ने भएकाले हामीले हरेक ठुला चाडपर्वमा मदिरा बिक्रीमा रोक लगाउन पहल गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय प्रशासन र सम्बन्धित व्यापारीहरुबाट पनि सहयोग भएकाले यो सम्भव भएको हो ।” –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here