एनआरएनए दिवस : संस्थालाई राजनीतिभन्दा माथि राख्न सुझाव

काठमाडौँ, २६ असोज (रासस) : प्रवासी नेपालीहरुको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई राजनीतिभन्दा माथि राखेर व्यावसायिक ढङ्गले सञ्चालन गरिनुपर्नेमा यसका संस्थापक तथा अग्रज व्यक्तित्वहरुले सुझाव दिएका छन् ।

गैरआवासीय नेपाली दिवस (एनआरएन डे) का अवसरमा संस्थाको बालुवाटारस्थित सचिवालयमा आज आयोजित कार्यक्रमका वक्ताले नेपालको आर्थिक विकास र समृद्धिका लागि भूमिका खेल्ने उद्देश्यका साथ स्थापना भएको संस्थाको महत्व र गरिमालाई कायम राख्न अगुवाहरुलाई आग्रह गरे ।

frontline

पछिल्ला वर्ष एनआरएनभित्र राजनीतिक प्रभाव बढेको र संस्थाका कतिपय गतिविधि पारदर्शी र प्रभावकारी हुन नसकेको भनी गुनासो बढेको भन्दै एनआरएनए आगुवाहरुले यस किसिमका क्रियाकलाप बन्द गरेर संस्थालाई साझा चौतारीका रूपमा अघि बढाइनुपर्नेमा उनीहरुको सुझाव छ ।

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संस्थालाई व्यावसायिक ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपाललाई समृद्ध राष्ट्र बनाउने अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

निर्वाचनका सन्दर्भमा केही विषय उठे पनि बाँकी समय पूरै एनआरएनएको ध्यान नेपालको आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वअध्यक्ष जिवा लामिछाने संस्थाभित्र विगत लामो समयदेखि केही गलत किसिमका गतिविधि बढेको र यसले नकारात्मक सन्देश गइरहेको भन्दै सुदृढ र प्रभावकारी बनाइनुपर्ने उल्लेख गर्नुभयो ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले संस्था स्थापना भएको १८ वर्षमा थुप्रै उपलब्धिमूलक काम भएको दाबी गर्नुभयो । संस्थाको आगामी नेतृत्वका लागि छिट्टै अधिवेशन तथा विश्व सम्मेलन सञ्चालनका लागि पहल गरिने बताउनुभयो ।

एनआरएनएका अध्यक्षका प्रत्याशी कूल आचार्यले संस्थाभित्र पछिल्ला दिनमा मौलाउँदै गएका गतिविधि रोकेर संस्थाको गरिमालाई कायम राख्न सबैले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले नेपाल सरकारसँग समन्वय र सहकार्यका साथ संस्थालाई प्रभावकारीरूपमा अघि बढाउने उल्लेख गर्नुभयो । अर्का अध्यक्षका प्रत्याशी डा बद्री केसीले संस्थाको आदर्श र सिद्धान्तनिष्ठ भएर राजनीतिभन्दा माथि उठेर संस्थालाई अघि बढाउन सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

विदेशमा बसोबास गर्ने नेपाली राजनीति र जात धर्ममा विभाजित भए देशको आर्थिक विकासमा समस्या हुने भन्दै यस्ता विषयले एनआरएनएलाई असर नपर्ने उहाँको भनाइ थियो ।

एनआरएनए अध्यक्षका प्रत्याशी रबीना थापाले नेपालको विकास र समृद्धिका लागि विदेशमा बस्ने नेपालीले लगानी बढाएर देशप्रतिको भाव बढाउन जरुरी भएको बताउनुभयो ।

एनआरएनए दिवस मनाइयो आज ११ अक्टोबर अर्थात् गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रमका साथ दिवस मनाइएको छ ।

एनआरएनएको आयोजनामा बिहान हरेक वर्ष झैँ स्वयम्भूनाथ र पशुपतिनाथको पूजाअर्चनाबाट गैरआवासीय नेपाली दिवस कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

सो अवसरमा एनआरएनएका अध्यक्षलगायत पदाधिकारीहरु तथा विभिन्न मुलुकहरुबाट आएका गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अपराह्न गैरआवासीय नेपाली दिवसका अवसरमा बालुवाटारस्थित सङ्घको सचिवालय भवनमा शुभकामना आदानप्रदानसहित औपचारिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा संस्थाका अध्यक्षलगायत पदाधिकारीहरुबाट सङ्घको झण्डोत्तोलन गरियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here