ठूलो मात्रामा एसिडसहित ३ जना पक्राउ

पोखरा । कास्कीमा ठूलो मात्रामा तेजाब (एसिड) सहित ३ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका- ४ गैह्रापाटनबाट ग ३ च ११४३ को जिपमा १ हजार किलो र पोखरा २ मोहोरिया टोलस्थित अभिषेक औजार पसलबाट ३ सय ५० किलो एसिड बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।




पक्राउ पर्नेमा सवारी चालक बारा जितपुर सिमरा उप–महानगरपालिका १५ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा ०४ बेलचोक बस्ने १९ वर्षीय मीनबहादुर भारती, विराटनगर महानगरपालिका २ घर भई चितवन भरतपुर बस्ने २ बस्ने २९ वर्षीय केशव सिंह र बाग्लुङ नगरपालिका ७ ढिकीचौर घर भई हाल पोखरा २ मोहोरियाटोल बस्ने अभिषेक औजार पसलका सञ्चालक ६३ वर्षीय बलबहादुर विक छन् ।
पोखरामा भेटिएको तेजावमा शीलबन्दी र लेबलिङ नभएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हमालले जानकारी दिए । उनले एसिड कुन प्रायोजनका लागि ल्याइएको भन्नेबारे अनुसन्धान भइरहेको बताए ।
बिना इजाजत तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ को दफा ८ र ९ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइराखेको प्रवक्ता हमालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्