प्रधानमन्त्री देउवा, प्रचण्ड, माधव नेपालबीच भेटवार्ता
काठमाण्डु । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र अध्यक्ष नेपालबीच आइतबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।
स्रोतका अनुसार उनीहरुबीच अहिले सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने बताइसकेका छन् ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच शनिबार पनि मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।
करिब डेढ घण्टा भएको छलफलमा मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिने सहमति भएको थियो ।
२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हाल एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् ।
सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ ।
माधवकुमार नेपाल नेकपा एमालेमा हुँदा समस्या भएकाले सत्ता गठबन्धनले नेपाल पक्षलाई पर्खिएका थिए ।
एमालेबाट औपचारिक रूपमा विभाजित भएपछि नेपाल समूहलाई सरकारमा जान बाटो खुलेको हो ।
बालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनमा आबद्ध दलबीच मन्त्रालयको संख्याको भागबन्डा टुंगिए पनि प्रधानमन्त्री देउवाले मन्त्रीहरूको नाम भने पाइसकेका छैनन् ।
देउवाले अब गठबन्धन आबद्ध ती दलबाट मन्त्रीको नाम आएपछि १४ भदौमा सरकार विस्तार गर्ने तयारी गरेका छन् ।
गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६–६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्