जापानबाट ५ लाख ५९ हजार डोज खोप आइपुग्यो
सोमबार, काठमाडौं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमबार काठमाडौं आइपुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सोमबार आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ ।
यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा र यही भदौ ५ गते दुई लाख आठ हजार ७ सय मात्रा खोप नेपाल आएको थियो । जापानबाट उपलब्ध भएको खोप प्रदेश १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने उनले जानकारी दिए ।
गत फागुनमा कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ । भारतबाट खरिद गरिएको कोभिशिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो ।
यसैगरी चीनबाट अनुदानमा थप १६ लाख डोज भेरोसेल खोप समेत चाँडै आउने मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए । नियमित आउने खोप ५० वर्ष मुनिका र प्राथमिकतामा परेकालाई लगाइने उनले जानकारी दिए ।
नेपालमा अहिलेसम्म करीब एक करोड ४० लाख मात्रा खोप आइसकेको छ । अहिलेसम्म ४९ लाख ४२ लाख २५० जनाले पहिलो मात्रा र ३८ लाख ४६ हजार ७३६ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्