फोहर व्यवस्थापन नहुँदा मेलम्ची बजार दुर्गन्धित

बुधबार, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् ।

हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार सञ्चालनमा छन् । बाक्लो वस्ती भएकै कारण फोहोर पनि बढी नै निस्कने गरेको छ ।

frontline

नगरपालिकाले विगतमा हप्तामा दुई दिन फोहर उठाउने गरेकामा मेलम्ची–इन्द्रावती बाढीपछि ठप्प भएको छ ।

नगरपालिकाले फोहर प्रशोधन केन्द्रसमेत निर्माण गरी फोहर व्यवस्थापनको तयारी गरेका बेला बाढीले केन्द्रको नामनिशानासमेत राखेन ।

अहिले फोहर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित बनेको व्यवसायी प्रकाश दाहालले बताउनुभयो ।

तत्काल अस्थायीरूपमा भए पनि व्यवस्था मिलाइ फोहर उठाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

होटल, तरकारी पसल, किराना पसल तथा घरघरबाट निस्कने फोहर व्यवस्थापन नहुँदा अहिले मेलम्चीका खहरेखोला र बजार आसपासका छेउछाउ फोहरले भरिएका छन् ।

कतिपयले फोहर डडाउने गर्दा प्रदूषण बढेको छ । प्लाष्टिकजन्य पदार्थसमेत जलाउने गर्दा बजारमा बस्नसमेत उकुसमुकुस हुने गरेको स्थानीयवासी नवराज दुलाल जानकारी दिनुभयो ।

अहिले नदीलाई पुरानै धारमा फर्काइ नदी किनारका बस्ती जोगाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दा अन्य काममा ध्यान दिन सकेको छैन ।

दीर्घकालीन सोचका साथ फोहर व्यवस्थापनका लागि ठाउँको खोजी भइरहेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अस्थायीरूपमा भए पनि तत्काल केही गर्नुपर्छ भनेर नगरपालिका लागिपरेको छ ।”

बाढीले बितण्डा मच्चाएको मेलम्चीमा पछिल्लो समय पिउने पानी, फोहरको व्यवस्थापन, स्वास्थ्य सतर्कता चुनौतीको विषय बनेको छ ।

समयमै यसतर्फ ध्यान नदिने हो भने कोभिड–१९ को सङ्क्रमण, पानीजन्य रोगको उच्च जोखिम हुन सक्ने बताइएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here