बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

मंगलबार, काठमाडौं ।  मन्त्रिपरिषदको बैठक जारी रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बालुवाटार स्रोतकाअनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने छ। 

frontline

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । सत्ता गठबन्धनभित्र मन्त्रीको बाँडफाँट नमिल्दा मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको हो।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको माधवपक्षलाई सरकारमा समेट्ने तयारी गरेपनि नेपाल समूहले ठोस निर्णय नगर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो। 

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सहभागी छ।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्।

बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने आशंका गरिएको छ। नेपाल समूहलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारी सत्ता गठबन्धनमा छलफल भइरहेको स्रोतको दाबी छ। 

मन्त्रिपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राति १२ बजेदेखि लागू हुने गरी दुबै संसदको अधिवेशन अन्त्य गरेकी थिइन्।

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर पार्टी विभाजन गर्न खोजेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरुलाई विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका छन्।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न  तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्ने गरी एमालेको स्थायी  कमिटी बैठक जारी छ।

संसदीय दलको प्रमुख सचेतक विशाल भट्टराईका अनुसार स्थायी कमिटी बैठक सकिएपछि एमाले संसदीय दलको बैठक दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here