विभिन्न मुद्दामा फरार ६ अभियुक्त पक्राउ
मंगलवार, बेंसीसहर । जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न मुद्दामा फरार रहेका ६ जना अभियुक्त पक्राउ गरेको छ । न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार रहेका विभिन्न मुद्दाका ६ जना अभियुक्त लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।
लागुऔषध (ब्राउनसुगर) मुद्दामा नौ वर्षदेखि फरार रहेका बेंसीसहर नगरपालिका– ७ बस्ने २९ वर्षीय अम्मरबहादुर गुरुङलाई पक्राउ गरेको छ । उनलाई शनिबार बेंसीसहर नगरपालिका– ७ बाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कार्कीले बताए ।
यसैगरी, चोरीसम्बन्धी मुद्दामा फरार रहेका १८ दिन कैद र २० हजार तीन सय २५ जरिवाना भएका बेंसीसहर नगरपालिका– ४ का २३ वर्षीय रविन गुरुङलाई पनि पक्राउ गरेको छ ।
उनलाई बेंसीसहर नगरपालिका- ९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, बहुविवाह मुद्दामा २० वर्षदेखि फरार रहेका बेंसीसहर नगरपालिका– ३ का वर्ष ४५ वर्षीय मीनकुमार श्रेष्ठलाई पक्राउ गरेको छ।
उनलाई राईनास नगरपालिका– ६ बाट लुकिछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरिएको हो । यस्तै, जालसाजी मुद्दाका एकजना, सम्बन्धविच्छेद मुद्दाका एकजना र लुटपाट मुद्दाका एकजना गरी जम्मा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आइतबार जिल्ला अदालत लमजुङमा पेस गरेकोमा अम्मरबहादुर गुरुङ, मीनकुमार श्रेष्ठ र रविन गुरुङ कारागार चलान भएका छन् । अन्य तीनजना जरिवानाबापतको रकम बुझाएर छुटेका छन् ।
जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
प्रतिक्रिया दिनुहोस्