निर्माणाधीन ट्यांकीको जग नै भासिएपछि खानेपानी आयोजना अलपत्र

श्रोत : ईन्टरनेट

बिहीबार, दिक्तेल । वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका दिक्तेलवासीको दुःख अझै टरेको छैन। पानी खोज्दै घण्टौं धाउनुपर्ने बाध्यता उस्तै छ। 

समग्र दिक्तेल क्षेत्रलाई खानेपानी पुर्‍याउन दुई वर्षअघि बृहत् खानेपानी आयोजना सुरू गरिएको थियो। तर, आयोजना पूरा हुनुको साटो निर्माणाधीन ट्यांकीको जग नै भासिएपछि अलपत्र पर्ने जोखिम बढेको छ।

frontline

निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण निर्माणाधीन ट्यांकीको जग भासिएको स्थानीयबासी बताउँछन्।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलगायत आसपासका क्षेत्रमा विस्तार गर्न लागिएको सहरी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माणाधीन ट्यांकी सञ्चालनमा नआउँदै जग भासिएको हो। 

नेपाल सरकारको ७० र उपभोक्ता समितिको ३० प्रतिशत गरी रु २२ करोड ५५ लाख ५८ हजार लगानीमा सुरू गरिएको खानेपानी आयोजना अन्तर्गत सोल्मास्थित तीनबोटेमा निर्माण गरिएको प्रशोधन केन्द्र ( ट्रिटमेन्ट प्लान्ट) सहितको ट्याङ्की सञ्चालनमा नआउँदै पूर्वी उत्तरपट्टीको जग भासिएको छ।

ठेकेदार कम्पनीले ट्याङ्की निर्माण गर्न जग सम्याउँदा फालेका माटोमाथि प्रशोधन ट्याङ्की निर्माण गरेकाले जग भासिएको सोल्माका स्थानीयबासी एवं जनता समाजवादी पार्टी नेपाल खोटाङका युवा नेता धनीराम नछुङले बताए।

‘खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ।’ 

उनले भने, ‘ठेकेदारको लापरबाहीकै कारण निर्माणाधीन ट्याङ्कीको पूर्वी उत्तरपट्टिपर्ने जगको पर्खाल भत्किएपछि ट्याङ्कीसमेत बग्ने सम्भावना देखिएको छ।’ 

जग भासिएपछि ट्रिटमेन्ट प्लान्ट ट्याङ्कीभन्दा अझ पूर्वी उत्तरपट्टी निर्माण गरिएको आवासगृह उच्च जोखिममा परेको छ।

ट्रिटमेन्ट प्लान्ट ट्याङ्कीको जग भासिएर करिब ५० मिटर फराकिलो ठाउँ ओगटेर पहिरो झरेपछि खानेपानी आयोजनाको प्राविधिक तथा सुरक्षाकर्मी बस्न निर्माण गरिएको आवासगृह उच्च जोखिममा परेको हो।    

सोल्मास्थित तीनबोटेमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्ट ट्याङ्की तथा प्राविधिक आवास गृहमुनिको पर्खाल वर्षाको कारण भत्किएको भन्ने जानकारी आएको र उक्त पर्खाल तत्काल पुनर्निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकिएको नगरप्रमुख दीपनारायण रिजालले बताए।

‘पर्खाल भत्किएको विषयमा ठेकेदार कम्पनीसँग कुरो भइसकेको छ’, उनले भने, ‘कुराकानीको क्रममा भोलिबाटै ठेकेदार कम्पनीले उक्त पर्खाल पुनर्निर्माण गर्ने बताएको छ।

यदि नबनाएको खण्डमा नगरपालिकाको तर्फबाट कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको माथिल्लो भेगमा मुहान रहेको रम्बाखोला–माझखोलाको पानी तानेर वितरण गर्ने लक्ष्य राखिएको खानेपानी आयोजनाको प्रशोधन केन्द्रकै ट्याङ्की जोखिममा परेपछि ठेकेदार कम्पनीको चर्को आलोचना सुरू भएको छ।

दिक्तेल, सोल्मा र बाम्राङका एक हजार ४९ घर स्थानीयबासीलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यकासाथ सहरी खानेपानी आयोजनाको काम सुरू गरिएको हो। 

लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका दिक्तेल बजारबासीका लागि लक्षित गरेर प्रशोधनसहितको स्वच्छ पानी वितरण गर्नेगरी खानेपानी आयोजनाको काम सुरू भएपछि स्थानीय बासिन्दा हर्षित बनेका थिए।

नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारमा हिउँद/वर्षा बाह्रै महिना खानेपानीको समस्या देखिएपछि दीर्घकालीन रूपमा समस्या समाधान गर्न उक्त खानेपानी आयोजनाको काम सुरू गरिएको हो।  

सम्झौता गरेको अठार महिनाभित्र पूरा गर्ने लक्ष्यकासाथ गत विसं २०७६ चैत १४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेको उक्त खानेपानी आयोजनाको काम अहिलेसम्म सम्पन्न भएको छैन।

मुहान विवाद र विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण तोकिएको समयमा खानेपानी आयोजनाको काम सम्पन्न नभएको केठेदार कम्पनीले जनाएको छ। 

आशिष निर्माण सेवा कम्पनीमार्फत पिइए–बिएन निर्माण कम्पनी जेभीले निर्माणको काम जिम्मा लिएको खानेपानी आयोजनामा ट्याङ्की निर्माण, पाइपलाइन विस्तारलगायत भौतिक पूर्वाधार निर्माणको सम्पूर्ण काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए।

‘वर्षातका कारण केही ठाउँमा समस्या देखिएका छन्’, उनले भने,‘समस्या देखिएका ठाउँमा ठेकेदार कम्पनीलाई पुनः निर्माणको काम गराएर आगामी दसैं अगाडि सञ्चालनमा ल्याउने तयारी गरेका छौं।’  

जिल्लाकै नमूना खानेपानी आयोजनाबाट दिक्तेल बजारको विभिन्न २० ठाउँमा फायरिङ गेटसमेत जडान गरिएको छ।

जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घर भएको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शहरी खानेपानी आयोजनाको संयुक्त लगानीमा १०० मिटरको फरकमा २० वटा फायरिङ गेट जडान गरिएको हो।

दिक्तेल बजारमा विस्तार गरिएको पुरानो खानेपानी आयोजनाको धारामा कहिले पानी नै नआउने, आइहाले पनि फोहर तथा दूषित पानी आउनेलगायत विभिन्न प्रकारका समस्या  वर्षौदेखि रहेको उपभोक्ताको  गुनासो छ।

यति मात्र नभइ उपभोक्ता  समितिका केही पदाधिकारीले आफ्ना नजिकका  व्यक्तिको घरमा तीन÷चारवटासम्म धारा जडान गरेको र उनीहरूका धारामा चौबिसैघण्टा पानी आउने बनाएकाले आफूहरुलाई थप समस्या भएको उपभोक्ताले आरोप लगाउँदै आएका छन्। 

जिल्लाको सदरमुकामसमेत रहेको दिक्तेल बजारमा सञ्चालित पुरानो खानेपानी आयोजनाबाट करिब ८०० वटा धारा वितरण गरिएको छ।

पुरानो खानेपानी आयोजनाको धारामा पानी नआएपछि दिक्तेल बजारबासी आसपासको गाउँमा पुगेर धारा तथा कुवाको  बोकेर ल्याएको पानी  उपभोग गर्न बाध्य छन्। (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here