कमला नदी अहिले ५० विघा खेतमा बग्छ

फाइल तस्बिर

सोमबार, धनुषा । धनुषाको सबैला नगरपालिका-१३ स्थित ५० विघा बढी खेतमा अहिले कमला नदी बग्छ।

साउन ४ र ५ गते मुसलधारे वर्षासँगै आएको बाढीले बाँध भत्काएपछि कमला खेततिर पसेको हो। सबैला नगरपालिका-१३ किरतपुर र ढोलबाजाको बीचमा पर्ने बाँध भत्काएर डेढ सय मिटर पूर्व बग्ने कमलाले धार परिवर्तन गरेपछि स्थानीय किसान  चिन्तित छन्।

frontline

ढोलबाजा र किरतपुर बीचमा ४ सय, सोही नगरपालिकाको वडा नम्बर १२ पटेर्वामा तीन सय मिटर बाँध भत्किएको छ।

कमला सिँचाइ आयोजनाका प्रमुख एकराज भट्टराईका अनुसार बाढीले करिब ५० विघा जग्गा कटान गरेको छ।

बाढीले बाँध भत्काएपछि अरू बेला बिरलै देखिने नेताहरू स्थानीयलाई भेट्न आउन थाले।

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, पूर्वमन्त्री मातृकाप्रसाद यादव, रामचन्द्र झालगायत दर्जनौं नेता तथा उच्च पदस्थ अधिकारी भत्किएको बाँध निरीक्षणमा पुगेका बेला बिहीबार नदी किनारमा बसेका पीडितहरू आक्रोशित थिए।

‘नेताहरू हामीलाई मुर्ख बनाउनमात्र आएका हुन्। बाँध भत्किने अवस्थामा छ भन्ने कसलाई थाहा थिएन? समयमा कसैले सुनेन, कानमा तेल हालेर सुते। अहिले बाँध टुटिसकेपछि खल्ती गर्माउन, आफन्त पाल्न बाढीमै काम गर्दैछन्,’ ढोलबाजाका बिन्दे साफीले भने, ‘एकातिर काम भइरहेको छ अर्कोतिर बाढीले बगाउँदैछ। केटाकेटीले खेलेजस्तो काम भइरहेको छ। सुख्खा मौसममा राम्ररी काम गर्नुपर्थ्यो।’

पछिल्लो समय मन्त्री भुसालसहितका नेताको टोलीमात्रै होइन कांग्रेस उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरूले आफूहरूलाई झुठो आश्वासन दिएको स्थानीय शम्भु राउतले बताए।

‘काम गर्न/गराउन कोही आएका होइन सबै राजनीति गर्नमात्र आउँछन्। यतिका दिनसम्म बाँधको अवस्थाबारे कसलाई थाहा थिएन र? यिनीहरू कहिल्यै यहाँ आएनन्,’ उनले भने।

स्थानीय साहुसँग बटैयामा १६ कठ्ठा जमिन लिएर धान रोपेका किरतपुरका रामस्नेही यादवको अनुहार मलिन देखिन्थ्यो। उनले बटैया लिएर खेती गर्दै आएका छन्। अहिले बाढीले ९ कठ्ठा खेत कटान गरिसकेको छ। पसिना बगाएर रोपेको धान बगेपछि भावुक हुँदै उनले आफ्ना समस्या सुनाए।

‘नदी परके चास आ गरिबके बासके कोनो ठेगान नहीँ (खोला किनारको खेती र गरिबको बसोबासको कुनै ठेगान हुँदैन)। सरकारले कार्यकर्ता पाल्नमात्र काम गरेको छ। किसान र जनतासँग कसैलाई मतलब छैन। दीर्घकालीन योजना ल्याउनुपर्थ्यो,’ उनले भने।

भत्किएको बाँध टालटुल पार्न लागिएको तर यो दीर्घकालीन समाधान नभएको स्थानीय बताउँछन्। 

प्राविधिकका अनुसार पछिल्लो समय गिट्टी, बालुवा र ढुंगा ओसार्न लस्करै लागेर एक्साभेटर, टिपर र ट्याक्टर गुड्न थालेपछि सिँचाइका लागि बनाइएको बाँध कमजोर हुँदै गएको थियो।

बाँध सडकको पारवहन क्षमता ६ देखि १० टनसम्ममात्रै भए पनि केही वर्षयता बाँधको बाटो भएर १६ टनसम्मका ठूला गाडी गुड्ने गरेका थिए।

त्यसमाथि ढुंगा गिटी झिक्न कमलाको दोहन पनि जारी थियो। जसले बाँध टिकाउन मुस्किल हुँदै गयो।

‘नदीमा १६ वटासम्म एक्साभेटरको लाइन लागेको हुन्थ्यो। दिनभर बालुवा गिट्टी बोक्ने टिपर, टयाक्टरको ताँती हुन्थ्यो। यहाँ उत्खनन गरेर जिल्लाको धेरैजसो ठाउँमा सडक, भवन निर्माण भएको छ,’ स्थानीय विन्दे साफीले सुनाए।

नदीको दोहन गरेकोमा भने जिम्मेवार निकायका पदाधिकारी नै एक अर्कालाई दोष लगाउँछन्।

सिँचाइ आयोजनाका प्रमुख भट्टराईले नदीमा मापदण्डविपरित मनपर्दी उत्खनन भएको संकेत गरे।

‘उत्खननका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा अधिकार निहित छ। हामीले पत्र लेख्ने र भन्नबाहेक केही गर्न सक्दैनौ,’ भट्टराइले भने।

नगरपालिकाका प्रमुख विजयशंकर साह लगायतका जनप्रतिनिधि तथा प्रहरीको मिलिमतोमा दिनहुँ दर्जनौं एक्साभेटर, टिपर तथा ट्याक्टरले कमलामा मनपर्दी उत्खनन हुने गरेको स्थानीयको आरोप छ।

नदीमा मनपर्दी दोहन भएको र त्यसले बाँध भत्किएको सबैला नगरपालिकाका प्रमुख विजयशंकर साहको पनि भनाइ छ।

उत्खननमा आफ्नो संलग्नता नभएको दाबी गर्दै उनी अरू जनप्रतिनिधिको संलग्नता भने भएको बताउँछन्।

उनले आफ्नै नगरपालिका र छिमेकी नगरपालिकाका जनप्रतिनिधि तथा ठेकदारहरूले कमला नदी दोहन गरेको आरोप लगाए।

सिँचाइ आयोजना प्रमुख भट्टराईलाई पनि नदी दोहनमा संलग्न रहेको उनको आरोप छ।

२०७६ सालमा आएको बाढीले कमला नगरपालिकामा २/३ ठाउँमा बाँध भत्काएको थियो। त्यो ठाउँमा समेत मर्मतसम्भार तथा निर्माण कार्यका लागि सिँचाइ आयोजना प्रमुख भट्टराईले आफूहरूलाई सोधखोज नगरी मनपर्दी उत्खनन गर्न लगाएको नगर प्रमुख साहको दाबी छ।

‘राति-राति पनि उत्खनन हुन्थ्यो। सहिदनगरका मेयर र उनका भाइ विजय यादवले बालुवा गिट्टी खनाउँदै गर्दा १० वटा ट्याक्टर र जेसिबी मैले आफैं पक्रेको थिएँ। तर वडाध्यक्षहरूको पहलमा ३५/४० हजार रुपैयाँ राजश्व तिराएर छोडदिए। प्रहरीले पनि पैसा खाएर उनीहरूलाई खन्न छोडिदिन्थे। हामीलाई पनि निकै राजनीतिक दबाब आउँथ्यो,’ उनले थपे।

बाँधको माथिबाट रहेको बाटो हुँदै ट्याक्टर, टिपर, जेसिबीलगायतका भारी गाडी आउजाउ गर्दा बाँध कमजोर भइरहेकाले केही दिनभित्रै ६ फिट बाटो छोडेर तारजालीले घेरा लगाउने योजना रहेको उनले सुनाए।

टालटुलमै ११ करोड खर्च, मर्मत गरिएको बाँधको आयु मुस्किलले ७ महिना

२०१९ सालमा भारतको आर्थिक सहयोगमा कमला नदीका दुबै किनारमा ६८.८२ किलोमिटर माटाको बाँध निर्माण गरिएको थियो। मनपर्दी दोहन, भुक्षय लगायतका कारण वर्षेनी ठाउँ-ठाउँमा बाँध कटान हुँदै आएको छ। नदी कटानले धनुषाको सबैला, कमला, सहिदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिकाका दर्जनौं बस्ती र सिरहाका पनि धेरै बस्ती उच्च जोखिममा परेका छन्।

बाँध मर्मत सम्भारका लागि सरकारले दीर्घकालीन प्रयास गरेको छैन।

तत्काल बाँध मर्मत-सम्भारका लागि सरकारले ५० लाख रुपैयाँको परिधिभित्र रहेर काम गर्न पत्र दिएको र सोहीअनुसार काम भइरहेको आयोजनाका प्रमुख भट्टराईले बताए।

उनका अनुसार तत्काल सिमेन्ट बोरामा माटो भरेर ड्याम बनाउने, नाइलनका जालीमा ढुंगा राखेर बाँध बनाउने र स्टिलको पाइप गाड्ने लगायतका काम हुँदैछ।

त्यसैगरी कटान भएको ठाउँमा सतह अग्लो बनाउन ७ वटा टिपर २ एक्साभेटर प्रयोग गरी काम भइरहेको उनले बताए।

बाँध भत्किएको स्थानमा तीन करोडभन्दा माथिको काम भइसकेको उनको भनाइ छ।

‘अहिले १३ सय ५० मिटरमा पानी डाइभर्ट गर्ने र ११ सय मिटरमा निर्माण कार्य भइरेको छ। हप्ता दिनमा पानी डाइभर्ट गर्ने गरी काम हुँदैछ,’ उनले भने।

नगरप्रमुख साहले भने त्यसलाई थुक लगाएर चिप्पी टाँस्ने काम भएको टिप्पणी गरे।

‘ठूलो बाढी आयो भने तुरन्तै बगाएर लान्छ। सरकारलाई दीर्घकालीन योजना बनाएर काम गर्न दुई वर्षदेखि पटक-पटक मन्त्रालय पुगेर आग्रह गर्दै आएको छु। तर सुनेको छैन,’ नगर प्रमुख साहले भने, ‘मधेसमा श्रमदान गर्दैन। पैसा पठाउँदा खाइदिन्छ भनेर डिजी र सचिवले जवाफ दिँदै पन्छिनन्। जनताले हामीलाई गाली गर्छन्। प्रदेश र स्थानीय सरकारबाट दीर्घकालीन रूपमा तटबन्ध मर्मत सम्भवै छैन।’

धनुषाको पटेर्वा, किरतपुर, ढोलबाजा, हथमुन्डा, सिरहाको चिकना, सारसर क्षेत्रलगायतका क्षेत्रमा बाँध भत्किएर बस्ती तथा खेत डुबानको उच्च जोखिम रहेको भनी २०७७ माघ १० गते मन्त्रालयलाई प्रतिवेदन पठाउँदासमेत सरकारले गम्भीरतापूर्वक नलिएको कमला सिँचाइ आयोजना प्रमुख भट्टराईले दाबी गरे।

‘तत्काल ४४ करोड रुपैयाँ स्टिमेट गरी माग गर्दै जलस्रोत तथा सिँचाइ विभागमा हामीले प्रतिवेदन पठाएका थियौं। त्यहाँबाट निर्णय भएर माघ २८ गते प्रस्ताव अर्थ मन्त्रालयमा लगिएको थियो,’ उनले भने, ‘तर वैशाख १० गते ८ करोडसम्मको परिधिभित्र रहेर काम गराउनु भनेर सम्झौता पत्र थमाइयो। बाँकी स्रोत अगामी आर्थिक वर्षमा क्रमश: उपलब्ध गराउने भन्ने थियो।’

त्यो ८ करोडमा रुपैयाँबाट पोहोर साल हथमुन्डा क्षेत्रमा ४ वटा, हनुमान मन्दिर क्षेत्रमा ३ वटा, बल्टिया क्षेत्रमा ४ वटा र सिरहाको सारसर क्षेत्रमा एउटा, चिकना क्षेत्रमा ४ वटा र स्पर बनाइएको र ४ वटा निर्माणको क्रममा रहेको उनले बताए।

त्यसैगरी, सिन्धुलीको दुधौली बजार क्षेत्रमा स्पर निर्माण गरी बजार बग्नबाट जोगाइएको उनले दाबी गरे। यद्यपि, अहिले गरिएको सबै काम तत्कालीन जोगिने उपाय रहेको र धनुषामा मर्मत सम्भार भइरहेको बाँधको आयु बढीमा ७ महिनासम्म मात्र रहेको सिँचाइ आयोजना प्रमुख भट्टराईले उल्लेख गरे।

त्यो टेम्पोररी काम हो। पानी पर्छ। पानीले ठेल्छ। पानी र माटो भरिएको बोरा धुजाधुजा भएपछि बोराहरू फाट्छ। बगेर जान्छ। यो बढीमा ५/७ महिना टिक्ने हो,’ उनले थपे।

उनका अनुसार तटबन्ध भत्किएको स्थानमा अहिले पानी डाइभर्ट गर्न तीन वटा जेसिबी दिनरात खटाइएको छ। मन्त्री भुसाल निरीक्षणमा आउँदा डिपिआर तयार भइसकेको र तीव्र गतिमा प्रक्रियामा गई काम थाल्ने प्रयास गर्ने आश्वासन दिएको उनले सुनाए।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here