हरिवनका मेयरलाई कांग्रेसको ज्ञापन

 नेपाली कांग्रेस हरिवनका नेताहरुले मंगलबार हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंलाई ज्ञापन-पत्र बुझाएका छन् ।

हरिवन–क्यानेश्वर पक्की सडक निर्माण गरी मदन भण्डारी मार्ग (धरान–चतरा–हेटौंडा वैकल्पिक मार्ग) सँग जोड्नका लागि आग्रह गर्दै कांग्रेस नेताहरुले मेयर प्रसाईंलाई ज्ञापन-पत्र बुझाएका हुन् । हरिवनको फेदीदेखि धिमिले डाँडासम्मको ६ किलोमिटर सडकखण्डलाई कम्तिमा दुई लेनमा विस्तार गर्दै यसै आर्थिक वर्षमा पक्की सडक निर्माण गर्न ज्ञापन-पत्रमा जोडदार माग गरिएको छ । उक्त सडकखण्ड गुणस्तरीय ढंगले निर्माण हुन सके हरिवन नगरपालिका क्षेत्रको आर्थिक विकासमा गुणात्मक रुपले वृद्धि हुने भएकाले नगरपालिकाको तर्फबाट उच्च प्राथमिकतामा राख्नु पर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

frontline

हरिवन नगरपालिकाको नयाँ कार्यालय भवनमा कांग्रेसका तर्फबाट हरिवनमा मेयरका प्रत्यासी दिलिप राजभण्डारी, कांग्रेस वित्त तथा सहकारी संस्था समन्वय विभागका केन्द्रीय सदस्य रामहरि न्यौपाने, जिल्ला कार्य समिति सदस्य सुनिता घिसिङ, कांग्रेस महासमिति सदस्य शेरबहादुर योञ्जन, कांग्रेस हरिवनका नेता विनोद कार्की, रमेश भट्टराई लगायतले मेयर प्रसाईंलाई ज्ञापन-पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउँदै कांग्रेस नेता राजभण्डारी एवं न्यौपानेले हरिवन–क्यानेश्वर सडक स्तरोन्नतीका लागि नगरपालिकाको तर्फबाट यथाशक्य बजेट छुट्याउन र प्रदेश एवं संघीय सरकारसमक्ष आवश्यक कदम चाल्नका लागि साझेदारी गर्न समेत आग्रह गरेका थिए । त्यस्तै टोलीले हरिवन क्षेत्रको आर्थिक समृद्धिका लागि सिन्धुलीको केमनचुली र धुम्बे जोड्ने सडक स्तरोन्नतीका लागि समेत उचित ध्यान दिन मेयर प्रसाईंलाई आग्रह गरेको थियो ।

हरिवन नगरपालिकाका मेयर प्रसाईंले हरिवन–क्यानेश्वर सडकखण्ड स्तरोन्नतीका लागि आफू लागि परेको र कांग्रेसका साथिहरुको सहयोग पाए अझै बढी काम हुन सक्ने भन्दै खुशी प्रकट गरे । विकास र समृद्धिका लागि जुनसुकै पार्टीका नेता कार्यकर्तासँग सहकार्य गर्न आफू तयार रहेको समेत मेयर प्रसाईंले बताए । प्रदेश र संघीय सरकार एवं राष्ट्रिय योजना आयोग मात्र नभई बागमती प्रदेश सरकारका अर्थ मन्त्रीलाई समेत आफूले नाला सहित उक्त सडकखण्डको स्तरोन्नतीका लागि प्रस्ताव गरिसकेको मेयर प्रसाईंले दाबी गरे ।

केही समयअघि कांग्रेस सर्लाहीका पूर्व उपसभापति एवं नेता विनोद खनालको अगुवाईमा कांग्रेसीहरुको एक समूहले सिन्धुलीको क्यानेश्वरसम्म स्थलगत भ्रमण गर्दै त्यहाँका बासिन्दाको समस्या बुझ्ने काम गरेको थियो । भ्रमण सकेर फर्के लगतै टोलीले हरिवन बजार स्थित भेटघाट खाजाघरको सभाहलमा पत्रकार सम्मेलन गर्दै भारतीय सीमा नजिक कौडेनाबाट हरिवन हुँदै सिन्धुलीको क्यानेश्वर तथा मदन भण्डारी मार्गसम्म जोड्ने सडक स्तरोन्नतीका लागि पहल गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here