शिवसताक्षीमा हात्तीको बितण्डा

श्रोत : ईन्टरनेट

झापा । झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले बितण्डा मच्चाउन थालेको छ।

सोमबार बिहान हात्तीले वडा नम्बर ११ का ८ वटा घर भत्काएको छ। सँगै किसानको धान र मकै बालीसमेत नष्ट गरेको छ।

frontline

हात्तीले भत्काएका घरहरू रतुवामाई वृक्षारोपण आयोजनाको जंगलसँग जोडिएका छन्।

जंगल क्षेत्रबाट गाउँ पसेको हात्तीको बथानले स्थानीयको घर भत्काएको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष भैरवकुमार श्रेष्ठले बताए। एक सातादेखि हात्तीले स्थानीयको घर भत्काएर हैरान पार्न थालेको स्थानीय दीपक चौहानले जानकारी दिए।

हात्तीले वडा नम्बर ११ का चन्द्रबहादुर थेबे, बलबहादुर राई, भीमकुमार राई, अनिल लिम्बु, रत्न राई, टेकबहादुर राई, नरप्रसाद लक्सम र रोशन थेबेको घर भत्काउनुका साथै भित्र रहेको अन्नबाली समेत तानेर खाइदिएको छ। अधिकांशको भण्डारण गरिएको खाद्यान्नको बार भत्काएर हात्तीले खाएको चौहानले बताए।

बिहान २ बजेदेखि गाउँ पसेको हात्तीले बितण्डा मच्चाएको थियो। ज्यान जोगाउन कतिपय स्थानीय लत्ताकपडा खाद्यान्न र बालबालिकासहित भागेका थिए। हात्तीले सबै पीडितको गरेर पाँच लाख बराबरको क्षति भएको स्थानीयले बताए।

‘उज्यालो हुने बेलामा १० वटाको समूहमा रहेको हात्ती जंगलबाट आएर घर भत्काउन थाल्यो,’ पीडित चन्द्रप्रसाद थेबेले भने, ‘हात्ती आएको थाहा पाएर आफ्नो र बालबच्चाको ज्यान जोगाउन सक्यौं।’ आफ्नो घरसँगै रहेका अन्य दुई घर हात्तीले भत्काउन थालेपछि आफूहरू भागेको उनले बताए।

हात्ती गाउँमा पसेपछि स्थानीयहरूले सुरक्षाका लागि प्रहरी समेतलाई खबर गरेका थिए। तर, हात्तीले घर भत्काएर भण्डारण गरेको खाद्यान्य खाएर जंगल फर्किसकेपछि प्रहरी घटनास्थल पुगेको स्थानीयले बताए।

बिहान शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल र वडाध्यक्ष भैरबकुमार श्रेष्ठले घटनाको स्थलगत निरीक्षण गरेका थिए। उनीहरूले हात्ती धपाउन प्रयोग हुने साइरन पीडितलाई उपलब्ध गराउने बताए।

प्रहरीले सर्जमिन गरेपछि पीडितले क्षतिपूर्तिसमेत पाउने वडाध्यक्ष श्रेष्ठले बताए।

जंगल क्षेत्र मानिसले अतिक्रमण गरेर उनीहरूको आहारा नामेट बनाएपछि जंगली जनावर आहारका लागि मानवबस्तीमा पसेको वातावरणविदहरूले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here