धानमा गबारोको प्रकोप, मोरङका किसान चिन्तित

श्रोत : ईन्टरनेट

विराटनगर ।  रोपाइँ नसकिँदै धानमा गबारोको प्रकोप देखा पर्न थालेको छ। प्रकोपका कारण मोरङका किसान चिन्तित छन्।  केही समयअघि रोपेर हरियो फर्किसकेको धानमा गबारोको प्रकोप देखिन थालेको कृषि विज्ञले जानकारी दिए। उनीहरूका अनुसार लगभग दुई साताअघि तिर रोपिएको बीउ हुर्किंदै गइरहेका बेला गबारोले नष्ट गर्न थालेपछि किसानलाई तनाव हुन थालेको हो। 

रोपाइँ सकिने चरणमा रहेका बेला मोरङको दक्षिण भेगमा गबारो कीरा धान बालीमा देखिन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ। ‘खेतमा भर्खर रोपिएको धान हरियो हुँदैछ। तर फाट्टफुट्ट प्रकोप देखा परिसक्यो,’ कृषि ज्ञान केन्द्र सुनसरी–मोरङ सम्पर्क केन्द्रका प्रमुख रामदेव सिङले भने, ‘विशेष गरेर भारतसँग सीमा जोडिएका स्थानमा गबारोको प्रकोप देखिएको छ। नियन्त्रणका लागि प्रयास गरिरहेका छौं।’ 

frontline

धानमा गबारो कीराको प्रकोप नियन्त्रण चुनौतीपूर्ण हुने उनले बताए। मोरङको जहँदा, धनपालथान, रंगेली लगायतका स्थानमा धान गबारोले नष्ट गर्न थालेको सिङको भनाइ छ। ‘केही ठाउँमा प्रकोप बढेर जाने अवस्था छ,’ उनले भने, ‘मौसममा बारम्बार भइरहने परिवर्तनले फैलनलाई मद्दत गर्छ।’ 

सिङका अनुसार बादल लाग्ने, पानी पर्ने र लगत्तै घाम लाग्ने हुँदा धानमा गबारोले बढी क्षति गर्छ। महामारीको रूपमा फैलिनसक्ने भएकाले नियन्त्रणका लागि बेलैमा ध्यान दिन थालिएको उनले बताए। ‘फाट्टफुट्ट अवस्थामा देखिएको गबारो नियन्त्रणको प्रयास भइरहेको छ,’ उनले भने, ‘पानी नियमित परिरहँदा भने गबारोले त्यति असर गर्दैन।’

सिङले रोपेको २५ दिनसम्म गबारोले सामान्य असर गर्ने बताए। ‘रोपेको केही समयमै यसको असर देखिन थाल्छ,’ उनले भने, ‘तर २५ दिनबाट ३५ दिनसम्म त्यति प्रभाव पर्दैन।’ रोपेको ४५ दिनदेखि माथि गइसकेपछि भने गबारो लागेमा धेरै असर गरेर उत्पादनमा ह्रास आउने उनको भनाइ छ। 

विराटनगर–५ का विमल कामतले बल्लबल्ल रोपेको धानमा गबारो देखिएपछि चिन्ता बढेको बताए। ‘रोप्ने बेला पानी र मलको तनाव बेहोर्नु पर्‍यो,’ उनले भने, ‘लगाइसकेपछि गबारोको असर देखिन थालेको छ।’ किसानलाई लगाएको बाली नथन्क्याएसम्म विभिन्न समस्याले पिरोल्ने गरेको गुनासो कामतको छ। 

‘अहिले प्रकोप सामान्य छ। बढ्यो भने धान सखापै बनाउँछ,’ उनले भने, ‘धान उठाउन नपाएसम्म कति कुराको चिन्ता लिनुपर्ने हो भन्ने टुंगो हुँदैन। समस्या समाधानका लागि कृषि विज्ञहरूलाई आग्रह गरिरहेका छौं।’ रासायनिक मल र पानीको अभाव झेल्दै दुःख गरेर रोपेको धान कीराले मर्न थालेकाले नियन्त्रणका लागि सरकारले सहयोग गर्नुपर्ने कामतको माग छ। किसानको समस्या समाधान गर्न स्थानीय सरकारले चासै नदिने गरेको गुनासो उनले गरे। 

जहदाका किसान श्याम मण्डलले धानमा प्रत्येक वर्ष गबारोले सताउने गरेको गुनासो पोखे। ‘अहिले गबारोले सामान्य मात्रै क्षति गरिरहेको छ,’ उनले भने, ‘नियन्त्रण गर्ने तरिका किसानलाई थाहा नहुने भएकाले सरकारले नै सहयोग गर्नुपर्छ।’ रोप्ने बेला पानी र मल तथा रोपिसकेपछि किराको प्रकोप देखिएमा वा अरू समस्या आएमा सरकारी सहयोगको अभाव हुने गरेको मण्डलले बताए।  धानका लागि सहज रूपमा मल र बीउ उपलब्ध नहुने गरेको गुनासो कृषकको छ। आफ्नै मुलुकमा सहज रूपमा उपलब्ध नभएपछि कृषकले भारतीय बजारबाट कमसल मल र बीउ ल्याउनुपर्ने बाध्यता रहेको मण्डलको भनाइ छ। 

कृषि प्राविधिक भने कमसल मल र बीउकै कारण बालीनालीमा रोगको प्रकोपले धेरै असर गर्ने गरेको बताउँछन्। जाहदा गाउँपालिकाका कृषि प्राविधिक शौरभ सिङले गतवर्षको तुलना यसवर्ष गबारो असर कम देखिए पनि यसको प्रभाव विस्तारै बढ्नसक्ने बताए। ‘गत वर्ष यो समयमा निकै असर गरे पनि अहिले सामान्य मात्रै छ। तर बढ्नसक्छ,’ उनले भने, ‘बारम्बार गबारोको प्रकोप देखिएपछि किसानलाई माटो परीक्षणका लागि आग्रह गर्दा पनि मान्दैनन्। नेपालमा आभाव हुँदा भारतबाट मल र बीउ ल्याएर रोपाइँ गर्नुपर्ने अवस्था पनि छ।’ 

सीमावर्ती क्षेत्रका किसान कमसल भारतीय मल र बीउमा निर्भर हुनु परिरहँदा पनि धानमा गबारोले धेरै दुःख दिने गरेको सिङको भनाइ छ। ‘आवश्यकता परेका बेला किसानलाई उपलब्ध गराउन सकिँदैन। त्यही भएकाले उनीहरू भारत केन्द्रित हुन बाध्य छन्,’ उनले भने, ‘बेला–बेला माटोको परीक्षण गर्नुपर्ने भए पनि किसानले मान्दैनन्। गबारोसँगै यसवर्ष धानमा डढुवा रोगको अर्को प्रकोप पनि थपिने सम्भावना छ।’

सिङका अनुसार बाढीले धेरै असर गरेको धानमा डढुवाको असर अधिक पर्छ। ‘गतवर्ष पनि गबारो र डढुवाको प्रकोप देखिएको थियो,’ उनले भने, ‘तर डढुवाले चैँ धेरै असर गर्‍यो।’ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here