डिस्चार्ज भए कलेजो प्रत्यारोपण गराएका भरतविक्रम शाही

 चितवन । चितवनको चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गराएका जाजरकोटका ४७ वर्षीय भरतविक्रम शाही डिस्चार्ज भएका छन्

अस्पतालमा २० दिन बसेका शाहीको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको कलेजो प्रत्यारोपण सर्जन डा. सञ्जय यादवले जानकारी दिए ।

frontline

जाजरकोटको कुशे गाउँपालिका वडा नं. ९ घर भएका शाहीको असार १८ गते कलेजो प्रत्यारोपण गरिएको थियो ।

शाहीलाई उनकै श्रीमती कमलादेवी शाहीले ६० प्रतिशत कलेजो दिएकी थिइन् । कमला भने असार २७ गते नै डिस्चार्ज भएकी थिइन् ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा भरतले आफूले नयाँ जीवन पाएको भन्दै खुसी व्यक्त गरे । ‘मृत्यु नजिक आएजस्तो लागेको थियो, तर प्रत्यारोपण सफल भएपछि बाँच्ने आशा जाग्यो’ शाहीले भने, ‘जीवन जोगाइदिने सबै डाक्टरसाव र नर्सहरुलाई धन्यवाद ।’

सिरोसिस् अफ लिभरको ‘ए’, ‘बी’ र ‘सी’ तीन चरणमध्ये शाही ‘सी’ चरणमा पुगेका थिए । चितवन मेडिकल कलेजमा दोस्रो कलेजो प्रत्यारोपण अघिल्लो भन्दा निकै जटिल थियो ।

प्रत्यारोपण गरिएका बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ Cirrhosis with Portal Vein Thrombosis (PVT) भएको थियो ।

सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामीमा यस्तो समस्या हुने कलेजो प्रत्यारोपण चिकित्सक डा. यादव बताउँछन् ।

डा. यादवका अनुसार नेपालमा नै पहिलोपटक चितवन मेडिकल कलेजमा पीभीटी भएको बिरामीमा कलेजो प्रत्यारोपण गरिएको छ ।

कलेजो प्रत्यारोपणमा २५ लाख रकम खर्च लाग्छ । चितवन मेडिकल कलेजमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गराउने शाही नेपालमा कलेजो प्रत्यारोपण गराउने नबौं बिरामी हुन् । कलेजले दोस्रोपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको हो ।

यसअघि कलेजमा २०७७ चैत ८ गते आइतवार भरतपुर महानगरपालिका वडा नं. १० चितवनकी ५४ बर्षिया धनकुमारी लामाको पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो ।

३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएर प्रत्यारोपण गरिएकी लामा नेपालमा नै कलेजो प्रत्यारोपण गराउने आठौं बिरामी हुन् ।

नेपालमा त्रिवि शिक्षण अस्पतालमा पाँच जना र मानव अंग प्रत्यारोपण केन्द्रमा दुई जनामा कलेजो प्रत्यारोपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here