विदेशी बैंकले बेच्दैछन् धमाधम नेपाली बैंकको शेयर

काठमाडौं ।  मंगलबार नेपाल बङ्गलादेश बैंकको स्थापनाकालदेखि नै संस्थापक बनेको आईएफआईसीले सो बैंकमा भएको आफ्नो स्वामित्व बेच्न लागेको सार्वजनिक सूचना प्रकाशित गर्‍यो । राष्ट्र बैंकले नेपालका वाणिज्य बैंकहरुको सङ्ख्या घटाउन पुँजी वृद्धि लगायतका प्रावधानहरू घोषणा गर्ने तयारी गरिरहेका बेला  एक पुरानो बैंकको विदेशी लगानीकर्ताले लगानी फिर्ता लाने तयारी गरेको हो।  

नेपाल बङ्गलादेश बैंकको स्थापनाकालमा नै लगानी गरेर संस्थापक बनेको आईएफआईसीले सो बैंकमा भएको आफ्नो स्वामित्व बेच्न लागेको हो । बङ्गलादेश बैंकको जम्मा ९ करोड ५३ हजार १५२ कित्ता शेयर छ । यसमध्ये ४०.८९५ प्रतिशत हुन आउने ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर आईएफआईसीसँग छ । यो सबै शेयर बेचेर आईएफआईसी बाहिरिन लागेको हो ।

frontline

केहि समय अघिसम्म थप पाँच अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव समेत बोर्डमा पेस गरेको आईएफआइसी बैंकले एकाएक सम्पूर्ण शेयर बेचेर किन जान लाग्यो भन्ने विषय अहिले चर्चामा छ । के कस्तो असहजता महसुस गरेर सो बैंक नेपालबाट बिदा लिने सोचमा पुग्यो होला बने सन्दर्भमा अहिले अनेकौँ तर्क र अनुमान सार्वजनिक हुन थालेका छन्। हुन त यसरी नेपालको बैंकमा गरेको लगानी फिर्ता लाने  आईएफआइसी पहिलो बैंक बन्दै छैन।  तर पनि थप लगानीको सोच बनाएको विदेशी बैंकले हठात् यस्तो निर्णय गर्नु चाहिँ सोचनीय छ। 

यस अघि नै दुबईको सरकारी स्वामित्वको अरब बैंकले नविल बैंकमा गरेको लगानी फिर्ता लागिसकेको छ। अहिले नेपालको बलियो मध्येको एक बैंकका रूपमा नबिल बैंक स्थापित हुन सो बैंकमा विगतमा रहेको विदेशी लगानीको समेत प्रमुख हात रहेको बताइन्छ। त्यसै गरी, नेपालको अर्को ठुलो र बलियो बैंक नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि फ्रान्सको इण्डोस्विज बैंकले लगानी गरेको थियो। सो बैंकले पनि आफ्नो लगानी फिर्ता लगिसकेको छ। विदेशीले लगानी फिर्ता लागिसकेको अर्को बैंक हो,नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक। श्रीलङ्काको सिलोन बैंकको यसमा लगानी थियो जुन एनबी समूहले खरिद गरेपछि सिलोन बैंक पूर्ण रूपमा फिर्ता गइसकेको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको अन्तिम तयारीमा रहेको हिमालयन बैंकबाट पाकिस्तानको हबिब बैंक बाहिरिने तयारीमा लागेको निकै भइसकेको छ। उता एभरेष्ट बैंकमा लगानी गरेको भारतको पन्जाब नेशनल बैंक पनि आफ्नो लगानी अब झिक्ने योजनामा लागेको चर्चा सुरु भएको छ।  सो बैंकले आफ्नो त्यही योजना अनुसार अहिले नेपाली नागरिक सुदेश खालिङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बताइन्छ। उनले अब भदौदेखि सो बैंकको व्यवस्थापन नेतृत्व सम्हाल्ने छन्। 

नेदरल्याण्डको एफएमओ बैंकको लगानी रहेको एनएमबि बैंकबाट समेत त्यो संस्थाले लगानी निकाल्ने भन्ने सामान्य चर्चा छ। तर, त्यस्तो प्रक्रिया अहिलेसम्म सुरु भइसकेको छैन। सो बैंकमा सर्वाधिक ठुलो लगानीकर्ताको रूपमा १३.६९ प्रतिशत शेयर सो डच बैंकले होल्ड गरेको छ। यदि सो बैंकले समेत लगानी फिर्ता लग्यो भने नेपालका बैंकबाट लगभग विदेशी बैंकको लगानी पूर्ण रूपमा फिर्ता भएको घोषणा गर्न धेरै दिन नलाग्ने देखिएको छ। 

त्यसैले,नेपालको बैङ्किङ क्षेत्रमा सुधारका अनेकौँ प्रयत्न भइरहेको बेला यसरी बैङ्किङ क्षेत्रमा आएको वैदेशिक लगानी फिर्ता जाने तयारीमा लाग्नुको कारण र त्यसका विविध पक्षबारे विमर्श आवश्यक देखिएको छ।  यसले अर्को के प्रश्न पनि उब्जाएको छ भने के अब नेपालको बैंकिंग क्षेत्र लगानीको दृष्टिले आकर्षक नरहेको हो ? वा, हाम्रा नीतिहरू वैदेशिक लगानीका लागी सकसपूर्ण बन्दै गएको कारण उनीहरू फिर्ता जाने निर्णयमा पुगेका हुन् ?

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री नेपालमा गरेको लगानी फिर्ता लाने विदेशी बैंकहरुको निर्णयमा नेपालको बैंकिंग क्षेत्र सुधारका लागे राष्ट्र बैंकले अघि सारेका नीतिहरू जिम्मेवार नरहेको बताउँछन्। उनको बिचारमा विगतमा जे जति मुनाफा आर्जन गर्दै आएका थिए त्यो बिस्तारै घट्दै गएको कारण उनीहरू अब यहाँ लगानी राखी रहने सोचमा नरहेका हुन सक्छन्। 

क्षेत्री भन्छन्, “उनीहरूको कुरा सधैँ स्पष्ट छ।  हामी नाफा कमाउन नै आएका हौँ भन्छन्। तर, अहिले त्यो बेलाको जस्तो बैंकको प्रतिशेयर आम्दानी त छैन।  त्यही भएर हुनुपर्छ लगानी फिर्ता लैजान खोजेका।” 

पटक पटक पुँजी वृद्धिको कुरा आउँदा त्यो कारणले पनि विदेशी लगानीकर्तामा विकर्षण बढेको हुनसक्ने कुरालाई भने क्षेत्री नकार्दैनन्।  उनी भन्छन्, ” आफ्नो शेयर प्रतिशत (होल्डिंग) कायम राख्न लगातार पैसा थपेको थप्यै गर्नुपर्ने देखियो भने कसैलेपनि लगानी राखिराख्ने बारे सोच्दैन।  त्यो पनि कारण हुनसक्छ कि  पैसा थप्नु भन्दा बरु भएको नै निकाल्ने निर्णयमा उनीहरू पुगेका हुन्।” नेपालमा सङ्ख्यात्मक रूपमा वाणिज्य बैंक धेरै भएको र प्रतिस्पर्धा चर्को भएका कारण पनि यहाँको लगानी कायमै राख्ने रुचि विदेशी लगानीकर्तामा घटेको हुनसक्ने उनको विश्लेषण छ। 

अर्का पूर्व गभर्नर गणेश बहादुर थापाको विश्लेषण भने केही भिन्न छ।  उनी गभर्नर रहेको बेला नै नेपालमा ठुलो मात्रामा विदेशी बैङ्कहरूले नेपाली बैंकमा लगानी गरेका थिए।  त्यसैको अनुभवको आधारमा समेत होला शायद उनी विदेशीले बैंकको बहुमत शेयर नपाउने स्थितिमा लगानी फिर्ता लाने निर्णय गर्ने बताउँछन्। उनी भन्छन्, “नेपालमा लगानी गर्दा विदेशीले सो कम्पनीमा ५१ प्रतिशत शेयर होल्डिंग खोज्ने गर्छन्। तर त्यो कसैले दिन चाहँदैन। त्यसो हुँदा उनीहरू बरु लगानी निकाल्ने नै निर्णयमा पुगेका हुन सक्छन्।” 

नेपालमा विदेशी बैंकले लगानी गरेर खासै त्यस्तो नयाँ प्रविधि वा प्रडक्ट समेत नभित्राएकोले उनीहरूले लगानी फिर्ता गर्दा नेपाली बैंकिंग क्षेत्रले चिन्तित बन्नु पर्ने आवश्यकता नरहेको उनको ठम्याई छ। थापा भन्छन्, ” नेपालमा उनीहरूबाट कुनै नयाँ प्रडक्ट वा क्षमता पनि नेपाल आएन। नेपालीले चलाएको र विदेशी लगानी समेत भएको बैंक बिच कुनै अन्तर नै देखिएन। त्यसैले आफ्नो लगानीको औचित्य समेत उनीहरूले पुष्टि गर्न उनीहरू जाने निष्कर्षमा पुगेका होलान्।”  अहिले नपाली बैंक सञ्चालकहरू पनि धेरै नै सक्षम भइसकेकोले गर्दा अब विदेशी लगानीको आवश्यकता समेत नरहेको उनको बुझाई छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here