उपत्यका बाहिरका बालबालिका सम्पर्कमै छैनन्

काठमाडौं । तिलगंगा देवपतनस्थित शारदा आधारभूत विद्यालय कोरोना महामारीको दोस्रो लहरका कारण बन्द हुनुअघि ७८ जना विद्यार्थी अध्ययनरत थिए ।

तर तीमध्ये अहिलेसम्म एक जना पनि विद्यालयको सम्पर्कमा छैनन् । प्रधानाध्यापक महेन्द्रप्रसाद रिजालका अनुसार विद्यालयमा अध्ययनरत ८० प्रतिशत बालबालिका भारतीय मूलका छन् भने बाँकी तराईका दलित परिवारका छन्, जो काठमाडौंमा कवाडी संकलन तथा सरसफाइ क्षेत्रमा काम गर्छन् ।

frontline

कोरोना महामारी नियन्त्रणका लागि वैशाखमा निषेधाज्ञा घोषणा गरेपछि विद्यार्थीहरु आफ्ना अभिभावकसँगै कोही भारत फर्किए त कोही तराईका जिल्लाहरुमा पुगेका छन् ।

एकाध विद्यार्थी भने अहिले पनि विद्यालय नजिककै टोलमा प्लाष्टिक, बोतल टिप्दै गरेको देखेको प्रधानाध्यापक रिजालले बताए । भन्छन्, ‘मैले देखेपछि पुस्तक लिन विद्यालयमा बोलाएँ । तर आजसम्म आएका छैनन् ।’ उनका अनुसार गत वर्ष जस्तै यो वर्ष पनि भौतिक रूपमा पढाउनुबाहेक अर्को विकल्प छैन । तर यो कहिलेबाट सम्भव हुन्छ भन्ने निश्चित छैन ।

संघीय राजधानी काठमाडौंमा रहेका थुप्रै समुदायिक विद्यालयको अवस्था यस्तै छ । विद्यार्थीहरु इन्टरनेटको पहुँचमा छैनन् । निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अनलाइन कक्षामार्फत भएपनि पठन पाठन गरिरहँदा सामुदायिक विद्यालयका विद्यार्थी खेलेर दिन बिताइरहेका छन् ।

बुद्धनगरस्थित बुद्धनगर आधारभूत विद्यालयमा ईसीडी (अर्ली चाईल्ड डेभलभमेन्ट) देखि कक्षा आठसम्म पढाइ हुन्छ । गत वर्ष १०० जना विद्यार्थी रहेको विद्यालयमा असार २८ गतेसम्म ४७ जना भर्ना भएका छन् । तर एक जना पनि अनलाइनको पहुँचमा छैनन् ।

अधिकांश विद्यार्थी आफन्तको घरमा बसेर पढ्ने र घरेलु सहयोगीका रूपमा काम गर्ने बालबालिका छन् । विद्यार्थीको पढाइ सञ्चालनका लागि विद्यालय खुल्नुको विकल्प नरहेको प्रधानाध्यापक पुरुषोत्तम नेपाल भन्छन्, ‘अनलाइनमा कसैको पहुँच छैन । विद्यालयमा पढाउन अनुमति छैन। छलफल गर्दैछौं । छिट्टै निर्णय गर्छौं ।’

शिक्षकहरू आलोपालो आउने र विद्यार्थीलाई भर्ना गर्दै पुस्तक वितरण गरिरहेको शिक्षिका शान्ता पराजुलीले बताइन् ।

ललितपुर नखिपोटको चोइनाविणा गुरुगणेश आधारभूत विद्यालयमा पनि अनलाइन कक्षा सञ्चालन हुन सकेको छैन ।

ईसीडीदेखि कक्षा सातसम्म पढाइ हुने यो विद्यालयमा गतवर्ष १०७ जना विद्यार्थी थिए । यो वर्ष केही नयाँसहित ९६ जनाले नाम दर्ता गरेका छन्।

तर अनलाइन कक्षा सञ्चालनका लागि विद्यार्थीको अवस्था अध्ययन गर्दा सात कक्षामा एक जना र ६ कक्षामा तीन जना मात्र इन्टरनेटको पहुँचमा पाइएको प्रधानाध्यापक भीमप्रसाद गेलाल बताउँछन् ।

‘असार २९ गतेदेखि विद्यार्थीलाई आलोपालो विद्यालयमै बोलाएर होमवर्क दिइरहेका छौं’, गेलालले भने, ‘विद्यालय आउन डराएकाहरूलाई घरमा गएर अथवा फोनबाट होमवर्क दिने तयारीमा छौं ।’

गत वर्ष १३० विद्यार्थी रहेको बुङ्मतीको वाखेलकुमारी आधारभूत विद्यालयमा ६० जना विद्यार्थी भर्ना भएका छन् । प्रधानाध्यापक तुलाबहादुर लामाका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीमा ईँटाभट्टामा काम गर्ने मजदुरको छोराछोरीको बाहुल्य छ ।

निषेधाज्ञाका बेला काम नपाइने भएपछि अभिभावक गाउँ जाँदा बालबालिका पनि सँगै गएका छन् । कतिपय विद्यार्थी त विद्यालयको सम्पर्कमै छैनन् ।

प्रधानाध्यापक लामा भन्छन्, ‘धेरैले ईँटाभट्टा खुलेपछि अभिभावकसँगै आउने कुरा गरिरहेका छन् । कतिपय अभिभावकले विद्यालयलाई दिएको नम्बरमा सम्पर्क नै भइरहेको छैन ।’

ललितपुर, सुनाकोठीको मोतीविनायक आधारभूत विद्यालयमा ईसीडीदेखि कक्षा ८ सम्म पढाइ हुन्छ । विद्यालयमा नयाँ पुराना गरेर ६५ विद्यार्थी भर्ना भएका छन् । अधिकांश उपत्यका बाहिरका बालबालिका भएकाले सम्पर्कमा नआएको प्रधानाध्यापक लक्ष्मी कार्कीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here