सङ्क्रमण कायमै : सतर्क रहन विज्ञको सुझाव

काठमाडौँ । निषेधाज्ञा खुकुलो भएसंँगै कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि थप सतर्क र सजग हुनुपर्ने विज्ञहरूको सुझाव छ । निषेधाज्ञा खुकुलो भएपछि सङ्क्रमित बढिरहेको भन्दै शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन जोखिम कायमै भएको हुनाले काम नपरी घरबाहिर ननिस्कन अनुरोध गर्नुहुन्छ ।

अत्यावश्यक काममा निक्लनै परे वा नियमित काममा जानु परे सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने सुझाव दिँदै उहाँले भन्नुभयो, “बाहिर जाँदा नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाएर मात्रै हिँड्नुपर्छ ।

frontline

बाहिरबाट घर आउने बित्तिकै साबुनपानीले मिचिमिची हात धुने गर्नुपर्छ । नियमित घरबाहिर जाने व्यक्ति सकेसम्म परिवारका अन्य सदस्यसँग बढी घुलमिल नहुने, साथीहरू भेट्दा हात नमिलाउने वा टाँसिएर नबस्ने, बाहिरबाट घर फर्केपछि सकेसम्म नुहाउने र लगाएका कपडा धुने गर्नुपर्छ ।”

पहिलो लहर नियन्त्रण उन्मुखकै क्रममा दोस्रो लहर आयो । यसमा सरकार र नागरिक दुवै पक्षबाट कमजोरी भएको उहाँको भनाइ छ । पहिलो लहरको कोरोना गयो भनेर नारा जुलुस, विवाह, व्रतवन्धजस्ता कार्यमा लापरबाही देखियो डा. पुनले थप्नुभयो, “जसबाट धेरै सङ्क्रमित हुन पुगे ।

पहिलेको कमी–कमजोरीबाट पाठ सिकेर भोलिको चुनौतीसँग जुध्ने गर्नुपर्छ ।” डा. पुनका अनुसार नागरिक आफँै सचेत र सजग हुनु जरुरी छ ।

नागरिक आफैँ जागरुक बने जस्तोसुकै शक्तिशाली सङ्क्रामक भेरियन्ट भेटिए पनि त्यसलाई शक्तिहीन बनाउन सक्छौंँ ।

सधैँभरिको बन्दाबन्दी वा निषेधाज्ञाले अर्को समस्या निम्त्याउन सक्छ भन्दै उहाँले स्पष्ट पार्नुभयो, “निषेधाज्ञा खुकुलो पार्दै लैजानु आवश्यक छ तर हामीले जनस्वास्थ्यका मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्छ ।

दोस्रो लहरले ल्याएको महामारीबाट हामीले पाठ सिक्नुपर्छ ।”कोरोना सङ्क्रमण कम नभएको अवस्थामा हरेक मानिसले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने जनस्वास्थ्य विज्ञ इसा कर्माचार्य बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “निषेधाज्ञा खुकुलो गर्नुको अर्थ सङ्क्रमण नियन्त्रण भएको पक्कै होइन । सङ्क्रमितको सङ्ख्या बढ्नेछ तसर्थ सतर्क भएर आफ्ना काम गर्नुपर्छ । ”

जनस्वास्थ्य विज्ञ कर्माचार्यले लापरबाही गरेर सङ्क्रमण बढेमा फेरि बन्दाबन्दी वा निषेधाज्ञा गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भएकोले अनुशासित भएर कोरोनासँग लड्नुपर्ने सुझाव दिनुहुन्छ ।

कोरोना सङ्क्रमणको प्रमुख रोकथाम व्यक्तिगत दूरी हो भन्दै उहाँ घरबाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा हरेक ठाउँमा छ फिटको दूरी कायम गर्नुपर्ने सुझाव उहाँको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here