प्राधिकरणको चरम लापरबाहीका कारण सर्वसाधारणको ज्यान जोखिममा

काभ्रे । काभ्रे जिल्लाको चौरिदेउराली गाउँपालिका वडा नं. ८ स्थित खोलापारी पाखा भन्ने स्थानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । चौरीदेउराली गाउँपालिका वडा नं. ७ का रामप्रसाद पन्तको बाख्रा चराउन जाँदा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ ।

विगत लामो समयदेखि नेपाल विद्युत प्राधिकरणले लापरबाही गर्दै जमिनको सतह नजिकै नांगो तार राखेकोले सोही तारमा करेन्ट लागी पन्तको मृत्यु भएको जनाइएको छ ।

frontline

स्थानीय ६१ वर्षीया राम प्रसाद पन्त बाख्रा चराउन र घाँस काट्न जाँदा प्राधिकरणले असुरक्षित ढंगले छाडेको एघार हजार ‘हाइटेन्सन’को नांगो तारबाट करेन्ट लागेर मृत्युु भएको हो । प्राधिकरणले जमिनबाट जम्मा ४ फिट माथि रहेको विद्युतको तारलाई नांगो रुपमा छाडेको थियो ।

स्थानीयले पटकपटक प्राधिकरणलाई विद्युतको तार नाङ्गो रुपमा छाड्दा सर्वसाधारणको ज्यान जान सक्ने व्यवस्थापन गरिदिन अनुरोध गरे पनि प्राधिकरणले बेवास्ता गर्दै आएको थियो । वर्षाको मौसममा रुख विरुवाहरु पनि बढेर नांगो तारलाई छुने अवस्था आएकोले करेन्ट लागेर अरु पनि दुर्घटना हुन सक्ने स्थानीय बताउँछन् । बारीमा मकै रहेको यस मौसममा कतिपय ठाउँमा मकैको बोटले नै बिजुलीको तारलाई छेकेको पनि देखिएको छ ।

प्राधिकरणले सडक खनेको ठाउँमा लगेर असुरक्षित रुपमा बिजुलीको पोल गाडेको छ । नजिकका रुखविरुवाहरु पनि नकाटिकन पोल गाडेकोले स्थानीयहरु घाँस काट्दा खेरी तारमा नै घाँस अड्किने समस्या भएको बताउँछन् । यसअघि पनि एक बालिकालाई करेन्ट लागेर हात गुमाउनु परेको घटनाबाट अहिले ज्यान नै जाने घटना घटेकोले प्राधिकरणले सो तार व्यवस्थापनमा लापरबाही गरेको स्थानीय बताउँछन् । ।

मृतकका छोरा राजेन्द्रले प्राधिकरणको चरम लापरबाहीको कारणले घटना घटेको बताउँदै प्राधिकरणविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी समेत दिएका छन् ।

‘प्राधिकरणको लापरबाहीकै कारण मैले बुबा गुमाउनुपर्यो, अब बुबालाई फर्काएर ल्याउन त सकिँदैन, अहिले पनि गाउँमा ती बेवारिसे नांगो तारलाई व्यवस्थापन गरेको छैन । फेरि यस्तै घट्ना दोहोरिदैन भन्न सकिन्न, त्यसैले हामीले प्राधिकरणविरुद्ध जाहेरी दिएका छौँ’ पन्तले भने ।

यस विषयमा सोही वडाका वडाध्यक्ष धन तामाङसँग बुझ्दा उनले पनि प्राधिकरणको लापरबाहीकै कारण उक्त घट्ना घटेको बताए ।

‘मध्यपहाडी लोकमार्ग अन्तरगतको सडक खन्ने क्रममा केही वर्ष अगाडि बिजुलीको पोलहरु अव्यवस्थित बनाएका थिए । केही समय अगाडि पनि १२ वर्षिया बालिकाको पनि करेन्ट लागेर हात गुमेको थियो, वडाले धेरै पटक यस विषयमा प्राधिकरणसँग कुरा राखेको हो तर सुनवाइ नै भएन, अहिले फेरी घटना दोहोरियो,’ वडाध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here