वैदेशिक रोजगारीमा छोरालाई भने अनुसार काम नभएपछि एजेन्टको हत्या

बुटवल । कपिलवस्तुमा तीन वर्षअघि भएको एउटा हत्याको घटना वैदेशिक रोजगारीमा भएको ठगीसँग जोडिएको पाइएको छ ।

२०७५ साल चैत १७ गते राति कपिलवस्तुको कृष्णनगरका ५५ वर्षीय पारस पुरीको गोली हानी हत्या भएको थियो ।

frontline

हत्यामा संलग्नको आरोप लागेका पशुपति कुर्मी हालै पक्राउ परेका छन् ।

पुरीले वैदेशिक रोजगारीमा कामदार पठाउने एजेन्टको काम गर्थे ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–७ का ५० वर्षीय वर्षीय कुर्मी जिल्लाको महाराजगंज नगरपालिका हर्दौनास्थित नेपाल भारत सिमानामा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।

छोरा दिनेशकुमार कुर्मीलाई बहराइन पठाउँदा एजेन्ट पुरीले एक लाख पन्ध्र हजार रुपैयाँ लिएको तर भने अनुसार काम नपाएपछि कुर्मीले पटक पटक पैसा फिर्ता मागेका थिए ।

तर एजेन्ट पुरीले पैसा फिर्ता नगरेपछि रिसइवी बढेको र गोली हानेर हत्या भएको डीएसपी भण्डारीले बताए ।

कुर्मीले पुरीको हत्या गर्ने योजना बनाई २०७५ चैत १७ गते राति ९ बजे तीन जनासहित आई गोली हानेर फरार भएको प्रहरीले बताएको छ ।

गोली हानेपछि उनीहर भारततर्फ भागेका थिए ।

पुरीलाई हत्या गर्न कुर्मीले भारतीय नागरिकलाई पाँच हजार भारतीय रुपैया दिएको समेत अनुसन्धानबाट खुल्न आएको डीएसपी भण्डारीले बताए ।

कुर्मीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

poster-here