सुनसरीमा ठुलो दुर्घटना : तीनको मृत्यु

श्रोत : ईन्टरनेट

सुनसरीमा हायस गाडीले पिकअप गाडी र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु 

सुनसरी । सुनसरीमा हायस गाडीले पिकअप गाडी र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

आइतबार बिहान पौने ८ बजे कोशी गाउँपालिका वडा नम्बर ८ नङ्खु टोलस्थित पूर्व-पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

frontline

प्रहरीका अनुसार दुर्घटनामा परी दुई जना घाइते समेत भएका छन्।

पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो।

सो दुर्घटनाबाट मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर वडा ७ का ४० वर्षीय अक्षय कुमार गुप्ता गम्भीर घाइते भएका थिए।

उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ३५ वर्षीय विवश तामाङ र हायसका सहचालक २५ वर्षीय नारायण बत्स्यालको विराट नर्सिङ होममा उपचार भइरहेको छ।

दुर्घटना भएका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा छ।

प्रतिक्रिया दिनुहोस्

poster-here