बागलुङका २८ वडा पहिरोको उच्च जोखिममा

बागलुङ । यस बर्ष बागलुङमा पहिरोका कारण ३० हजार जनसंख्या प्रभावित हुने आँकलन गरिएको छ । बागलुङका २८ वडा पहिरोको उच्च, २४ वडामा पहिरोको मध्यम र ८ वटा वडा न्युन जोखिममा रहेका छन् ।

पहिरोको उच्च, मध्यम र न्युन जोखिमलाई आँकलन गरेर पहिरो प्रभावितको संख्या तयार परिएको हो । मनसुन सुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको ‘मनुसन आपत्कालीन कार्ययोजना–२०७८’ले जिल्लाका अधिकांश भुभाग पहिरोबाट प्रभावित हुने तथ्यांक तयार गरेको हो ।

frontline

जिल्लाभर पहिरोका कारण ३ हजार ५ सयदेखि ४ हजार घरमा क्षति हुनसक्ने कार्ययोजनामा उल्लेख छ । पहिरोको जोखिममा सामुदायीक विद्यालयसमेत परेका छन् । यस बर्ष २० सामुदायीक विद्यालय भवनमा पहिरोले प्रभाव पार्नसक्ने जिल्ला बिपद व्यवस्थापन समितिले जनाएको छ । तीमध्ये केही पूर्ण रुपमा र केही आंशिक प्रभावित हुनेछन् ।

मनसुनजन्य विपत् पछिको प्रतिकार्य पुनःस्थापना र राहत तथा उद्धारका लागि विपत् व्यवस्थापन समितिले कार्ययोजना बनाएर काम थालेको हो । पूर्वानुमान अनुसार सबै तहमा व्यवस्थापनको काम भैरहेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए । ‘हामीले स्थानीय तहसँग जोखिमबारे छलफल गरेर तथ्यांक तयार गरेका छौं, सोही अनुसार जोखिमसँग जुध्न सबै सरोकारवालालाई तयार रहन निर्देशन दिएका छौं’ कार्कीले भने ।

विपत् व्यवस्थापन समितिले कार्ययोजना पारित गरेर कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाका अनुसार ३ हजार ४ सय ४३ पाँच वर्ष मुनिका बालबालिका बाढीपहिरोबाट प्रभावित हुनेछन् । त्यस्तै ६० वर्ष माथीका जेष्ठ नागरिकको तथ्यांक समेत धेरै छ । ३ हजार ६ सय ९९ जना जेष्ठ नागरिक प्रभावित हुने पूर्वानुभान छ । गर्भवती ७ सय ६५ र सुत्केरी १ हजार ४ सय ४ जना प्रभावित हुने अनुमानित तथ्यांक रहेको कार्कीले जानकारी दिए ।

बागलुङमा रहेका विभिन्न नदी तथा खोला किनारका बस्तीहरु समेत बाढीको उच्च जोखिममा रहेको कार्ययोजनामा उल्लेख छ । कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौंदीखोला, उत्तरगंगा लगायतका खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन् ।

‘यहाँका सबै खोला किनारका तटीय क्षेत्रहरु जोखिममा छन्’ विपत व्यवस्थापन समितिले भनेको छ ‘पूर्व तयारीमा खोला किनारका बस्तीहरु रहन आवश्यक छ ।’ कार्ययोजनाले उद्धार राहत तथा पुनस्थापना र सचेतनाका लागि उपलव्ध साधन स्रोतको समेत तथ्यांक तयार गरेको छ । ‘उद्धार सामग्रीदेखि पुनस्थापनाका लागि आवश्यक योजना समेतमा छलफल भयो’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश गौतमले भने ‘सबै सरोकारवाला सतर्क रहने र तत्काल उद्धारमा लाग्ने भन्ने छ ।’

जिल्लाका अधिकांश बस्ती सडक, भल र बाढीका कारण जोखिममा रहेको स्थानीय तहहरुले पूर्वानुमान गरेका छन् । स्थानीय तहले गतवर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्यांक र यो वर्षको सम्भावित जोखिमको अबस्था हेरेर तथ्यांक तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here