एमाले पार्टीमा आन्तरिक विवाद

काठमाण्डु । नेकपा एमालेको दशौं महाधिवेशन ओझेलमा परेको छ । पार्टीको आन्तरिक विवादमा रुमलिएको एमाले आफ्नो १० औं महाधिवेशन तोकिएको समयमा गर्न नसक्ने अवस्थामा पुगेको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गत फागुन २८ गते बसेको बैठकले पार्टीको १० औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

frontline

महाधिवेशन समयमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीले चैत ७ गते महाधिवेशन आयोजक कमिटीसमेत गठन गरेका थिए । तर, वरिष्ठ नेता माधव नेपाल समूहका कारण पार्टीको महाधिवेशन ओझेलमा परेको हो ।

कोरोना भाइरसको महामारी र पार्टीभित्र उत्पन्न विवादका कारण महाधिवेशन आयोजक कमिटीले सोचेअनुसारको काम गर्न सकेको छैन् । कमिटीले निर्धारित समयभित्रै पार्टी सदस्यता नवीकरण, टोल र प्रारम्भिक कमिटी गठन लगायतका कुनै पनि काम गर्न सकेको छैन् ।

महाधिवेशन आयोजक कमिटीको बैठकले वडा अधिवेशन भदौ ५, पालिका अधिवेशन भदौ १५, जिल्ला अधिवेशन भदौ ३० र प्रदेश अधिवेशन असोज २३ मा गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

नेकपा एमालेका एक नेताकाअनुसार पछिल्लो समय देखिएको राजनीतिक अस्थीरताका कारण महाधिवेशन मंसिरमा हुनेमा आशंका उत्पन्न भएको बताए । सरकार परिवर्तनका लागि भएका प्रयासहरु, कोरोना भाइरसको महामारी, पार्टीभित्रको विवादका कारण महाधिवेशनले चर्चा नपाएको ती नेताको दाबी छ ।

‘महाधिवेशनको माहोल बनेको छैन् । पार्टीका बैठकहरु नियमित हुन सकेका छैनन् । मुख्यकुरा त अहिले पार्टीलाई एकताबद्ध गराउनु हाम्रासामू चूनौतीपूर्ण रहेको छ’, एक केन्द्रीय सदस्यले भने ।

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा पार्टीमा नेपाल समूह रहने कि नरहने भन्ने अवस्था रहेकाले महाधिवेशन ओझेलमा परेका दाबी गर्छन् । उनले पार्टीको विवाद उत्कर्षमा पुगेकाले महाधिवेशनको खासै चर्चा नभएको बताए ।

‘पार्टीभित्र माधव नेपालहरु रहने कि नरहने भन्ने छ । महाधिवेशनबारे पार्टीमा अहिले खासै चर्चामा छैन्’, उनले भने ।

नेता थापा पार्टीलाई एकताबद्ध बनाउनु पहिलो प्राथमिकता भएकाले त्यसपछि मात्रै महाधिवेशनबारे जान सकिने बताउँछन् । तर, उनले तोकिएको समयमा महाधिवेशन गर्न पार्टी प्रतिबद्ध रहेको बताए ।

‘माधव नेपालहरुले अलग पार्टी बनाएको अवस्थामा कति साथीहरु जान्छन् सोही अनुसार हामी अगाडि बढ्छौं,’ नेता थापाले भने, ‘तर, महाधिवेशनको मिति तोकिएको समयमा हुन्छ ।’

उनले केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्म नेपाल समूहको पनि कमिटी रहेकाले विभाजनको अवस्थामा को कता जाने सोहीअनुसार निर्णय गर्ने पनि बताए । नेता थापाले केन्द्रदेखि स्थानीय कमिटीबाट नेपाल समूहलाई नहटाइएको भन्दै पार्टीको विवादले कमिटीहरुमा पनि असर गरिरहेको दाबी गरे ।

‘उहाँहरु (नेपाल समूह)का कारणले कमिटी पनि क्लिएर भएको छैन् । पार्टी छोडेर जाने मान्छेको संख्या एकिन भएकै छैन् । अहिलेसम्म त एमालेभित्र बस्ने र एमालेभित्रै संघर्ष गर्ने भनिएको छ । यसले बाधा व्यवधान निम्तिएको छ’, उनले भने, ‘हामीलाई सदस्यता नविकरण गर्न पनि समस्या छ ।’

एमालेले अहिलेसम्म माधव नेपाल, झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट हटाएको थियो । अध्यक्ष ओलीले गत वैशाख ६ गते बसेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

उनले उक्त प्रतिवेदनमा समयमै महाधिवेशन गर्नका लागि निर्धारित समयभित्रै पार्टी सदस्यता नवीकरण गरिसक्ने, टोल र प्रारम्भिक कमिटीदेखि नै अधिवेशनहरु सम्पन्न गर्ने र निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गरेर पार्टीलाई नयाँ जिम्मेवारीका लागि तयार बनाउनुपर्ने उल्लेख गरेका छन् ।

नेपाल समूहको वार्गेनिङ्ग

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई खारेज गरेर पूर्ववत् अवस्थामा फर्काई दियो । त्यसलगत्तै प्रधानमन्त्री अ‍ोलीले फागुन २८ गते आफू निकट स्थायी कमिटी बैठक राखेर नेपाल समूहले पाएका सबै जिम्मेवारी खोसेका थिए ।

पार्टीभित्र आफ्नो अस्तित्व नै समाप्त हुने ठानेको नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको छ । प्रधानमन्त्री ओलीले पार्टीलाई पुरानो अवस्थामा फर्काउन नसकिने बताउँदै आएपनि अन्तिममा एमालेलाई विभाजनबाट रोक्न पुरानै अवस्थामा फर्काउन तयार भए । तर, पनि नेपाल समूहले प्रधानमन्त्रीको उक्त घोषणामाथि विश्वास गर्न सकेको छैन् । उनीहरुले फागुन २८ गते खोसिएका सबै पदहरु यथावत् हुनुपर्ने लगायतका माग राख्दै आइरहेका छन् ।

प्रधानमन्त्री ओलीले उनीहरुलाई पटक–पटक पार्टीका बैठकमा उपस्थित हुन निर्देशन दिएपनि नेपाल समूहले सहमति नभएसम्म कुनै पनि बैठकमा उपस्थित नहुने चेतावनी दिँदै आएको छ ।  नेतृ रामकुमारी झाँक्रीले पार्टी जेठ २ को अवस्थामा नफर्किएसम्म आत्मसर्पण नहुने बताइन् ।

‘हामीले आज सम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदा सम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन। यो विचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन। कोही पनि साथिहरू भ्रम नपर्न अनुरोध गर्दछु’, उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here