कांग्रेसका शिर्ष नेताहरुको दौडधुप सुरु
काठमाण्डु । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै शिर्ष नेताहरुको दौडधुप सुरु भएको छ । केन्द्रीय समितिको शुक्रबार सम्पन्न बैठकले कार्यतालिका संशोधन गरी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेलगतै नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
कांग्रेसले पार्टीको वैधानिकता जोगाउन २०७८ भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने बाध्यता रहेको छ । कांग्रेसको विधानअनुसार १४ औं महाधिवेशन २०७६ फागुनमा नै भइसक्नुपर्ने हो । तर, विधानमा एक वर्ष अवधि लम्ब्याउने सुविधा भएकाले विगतका नेतृत्वले झै शेरबहादुर देउवाले पनि चार वर्षको समयमा महाधिवेशन गर्न सकेनन् ।
रामचन्द्र पौडेल पक्षको बहिस्कारका बाबजुद ११ पुस २०७६ मा बसेको बहुमत केन्द्रीय सदस्यको बैठकले एक वर्ष म्याद थप्यो । र, महाधिवेशनको मिति २०७७ फागुन ७–१० लाई तोक्यो । तर, पार्टीको समायोजन नै टुंग्याउन नसकेको कांग्रेसलाई महाधिवेशनको यो मिति टार्न कोरोना भाइरसको महामारी बहाना बन्यो ।
महाधिवेशन गर्नुपर्ने बेलामा ५ फागुन २०७७ मा संविधानको धारा २६९ अनुसार ६ महिना म्याद थप्ने र भदौ ७–१० मा महाधिवेशन गर्ने निर्णय लियो । तर, तयारी नपुगेको भन्दै एक हप्ता पछि सारेर भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।
वैधानिकता जोगाउने हो भने कांग्रेसका लागि यो नै अन्तिम अवसर हो । यसकालागि नेताहरु कुनैपनि हालतमा महाधिवेशन गर्ने पक्षमा छन् । अहिले सबैभन्दा मुख्य उदेश्य पार्टीलाई जोगाउन रहेको नेताहरु बताउँछन् । महाधिवेशनको टुङ्गो लागेसंगै आकांक्षीहरु गुटगत छलफलमा छन् ।
नेतृत्वमा देउवाको आकांक्षा
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका नेतृत्वका आकांक्षीहरु बढ्न थालेका छन् । कांग्रेसको नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरु आकांक्षी देखिएका हुन् । पार्टीलाई कमजोर बनाएको, सभापतिकै कारण निर्वाचनमा पराजय भोग्नुपरेको भन्दै देउवाको आलोचना भइरहेको छ ।
आलोचनामात्रै होइन निर्वाचनमा पराजय भोगेपछि नैतिकताको आधारमा देउवाले राजीनामा समेत दिनुपर्ने माग गरिएको थियो । तर, १४ औँ महाधिवेशनमा फेरी देउवाले सभापतिमा उमेद्वारी दिने बताएका छन् ।
उनले अधिवेशनका लागि रणनीति बनाउन आफू निकटका नेताहरुसंग छलफल सुरु गरेका छन् । पार्टीभित्र र आमजनतामा सकारात्मक माहोल नभएको भन्दै केही निकटवर्तीले नेतृत्वका लागि फेरि प्रतिस्पर्धा नगर्न देउवालाई सुझाएपनि उनले आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
विमलेन्द्र भन्छन्ः मेरो उमेद्वारी स्वभाविक हो
उपसभापति विमलेन्द्र निधिले योपटक देउवाले आफूलाई सहयोग गर्नुपर्ने बताएका छन् । क्रमअनुसार सभापतिमा दाबी गर्नु गलत नहुने उनको तर्क छ । आफू पार्टी नेतृत्वका लागि स्वाभाविक दाबेदार भएको बताउँदै निधिले देउवाको समर्थनमा आफू सभापतिको उम्मेदवार बन्ने चाहना व्यक्त गरेका छन् ।
तर, देउवाले १४ औँ आफुलाई सहयोग गर्न भनेका छन् भने १५ औं महाधिवेशनमा सहयोग गर्ने बचन दिएका छन् । देउवाले १५ औं महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन् ।
सकेसम्म देउवालाई विश्राम लिन लगाएर उनकै समर्थनमा अघि बढ्ने, नभए आफ्नो छुट्टै टिम बनाएर जाने निधिको तयारी छ । १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार को–को बन्छन् भन्ने अहिले नै यकिन नभए पनि संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति निधि नेतृत्वका लागि अघि बढेका छन् ।
कोइराला परिवारमा विराशत फर्काउने चाहाना
कोइराला परिवारको विरासत धान्न नेपाली कांग्रेसमार्फत राजनीतिमा क्रियाशील तीन नेता पार्टीको नेतृत्व लिन रणनीति बनाउँदै छन् । अहिले कोइराला परिवारबाट पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका कनिष्ठ पुत्र डा. शशांक कोइराला यति बेला पार्टी महामन्त्रीको हैसियतमा छन् भने पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता र निरन्तर क्रियाशील केशव कोइरालाका छोरा डा. शेखर कोइरालाले अवको महाधिवेशनमा मिलेर जाने सहमति गरेका छन् ।
अहिले महामन्त्री रहेका शशांक कोइराला पनि नेतृत्व लिन तयार रहेको बताउँछन् । उनि भन्छन्, ‘मेरो चाहना सभापतिमा उम्द्वारी दिने नै छ । तर, यसका लागि सबैसंग छलफल गर्नुप¥यो छलफल गरेपछि मैले निर्णय लिन्छु ।’
साथै उनले अबको केही दिनपछि देश दौडाहामा लागेर कार्यकर्ताको भावना बुझ्ने बताए । योपटक कोइराला परिवार मिलेर अघि बढ्नेगरि कुराकानी भइरहेको शशांकको भनाई छ । उनी भन्छन्, ‘पार्टी कोइरालाको मात्रै त होइन तर हामीलाई विश्वास गर्नेहरुको चाहना भएकाले हामी छलफल गर्दैछौं । सुजतासंग छलफल भइरहेको छ । अवको केही दिनमा नै हामी तिनै जना बसेर निर्णय लिन्छौं ।’
पार्टी नेतृत्वमा रहेकै बेला सुशील कोइरालाको १३ औं महाधिवेशनको संघारमा निधन भएपछि कोइराला परिवारको विरासत कसले धान्ने भन्ने निष्कर्ष निकाल्न नसक्दा कोइराला परिवारले सभापतिमा तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई समर्थन गरेको थियो ।
पार्टी नेतृत्वमा आउन कोइराला परिवारका तीन सदस्यमध्ये डा. शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न लागेको भन्दै आएका छन् भने शेखरले पार्टी नेतृत्वको कडा आलोचना गर्दै आएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेकी नेतृ सुजाता कोइराला भने पिताको नाममा स्थापित जीपी कोइराला फाउन्डेसनको नाममा देशका सातै प्रदेशका अधिकांश जिल्लामा कार्यालय स्थापना गरेर संगठनको जरो र लोकप्रियता तलबाटै बटुल्ने योजनामा छिन् ।
संस्थापनइतर पक्षबाट देउवासँग भिड्न वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले धेरैअघिदेखि दौडधुप गरिरहेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने आफैं अघि बढ्ने वा कसलाई समर्थन गर्ने भन्नेबारे टुंगो लगाउनै बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्