श्रीमती र छोरीको हत्याको प्रयासमा श्रीमान पक्राउ

डोटी ।  श्रीमती र छोरीको हत्याको प्रयास गरेको आरोपमा पक्राउ परेका डोटी जिल्ला आदर्श गाउँपालिका ४ रोडीका सन्तोष भाटमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। मंगलबार सन्तोषलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थपेर गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो। जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा खटेको प्रहरी टोलीले सन्तोषलाई सोमबार बिहान कैलालीको सीमावर्ती नाका त्रिनगर भन्सारबाट पक्राउ गरेको थियो।

सन्तोषले श्रीमती लक्ष्मी भाट र छोरी अञ्जु भाटलाई सुतिरहेको अवस्थामा ज्यान मार्ने मनसायले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। प्रहरीका अनुसार सन्तोषले जेठ १२ गते राति लक्ष्मी र अञ्जु सुतेको कोठा बाहिरबाट प्रज्वलनशील तरल पदार्थ कोठाभित्र खन्याई आगो लगाएका थिए। उक्त घटनापछि सन्तोष फरार रहेका थिए।

frontline

घटनाबारे टेलिफोनमार्फत जानकारी प्राप्त भएपछि तत्काल प्रहरी निरीक्षक किशन चन्दको कमाण्डमा प्रहरी घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानबाट श्रीमान सन्तोषले आगो लगाएको खुलेको थिए। त्यसपश्चात प्रहरीले सन्तोषको खोजिकार्य अघि बढाएको थियो। सन्तोषविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा जेठ १६ गते ज्यान मार्ने उद्योग मुद्दाको किटानी जाहेरी परेको थियो।

घटनापछि फरार रहेका सन्तोष भारत गएको हुन सक्ने अनुमान प्रहरीको थियो। यसबारे प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखालाई जानकारी गराइएको थियो। खोज तलासीको क्रममा प्रहरीले सन्तोषले प्रयोग गर्ने मोबाइल नम्बरको कल डिटेल र टावर लोकेशनको खोजी गरेको थियो। टावर लोकेशनबाट सन्तोष घटना भएको पछिल्लो दिन कञ्चनपुरको भारतीय सिमाना त्रिभुवन बस्ती गएको देखिएको थियो।

तर सन्तोष मोबाइल अफ गरी सम्पर्क विहीन भएका थिए। भारतमा रहेका निजका आफन्तसँग गोप्य रूपमा उनको बारेमा प्रहरीले बुझेको थियो। तत्पश्चात् फरार रहेका सन्तोषलाई सोमबार बिहान कैलालीको सीमावर्ती नाका त्रिनगर भन्सारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। सन्तोषको खोजतलासका लागि प्रहरी उपरीक्षक मल्ल स्वयं कैलाली पुगेका थिए। सन्तोषलाई अदालतबाट हिरासतमा राख्न म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरीक्षक मल्लले बताए।

लक्ष्मीसँग सन्तोषले आठ वर्षअघि विवाह गरेका थिए। उनीहरूबीच पछिल्लो समय राम्रो सम्बन्ध थिएन। सन्तोषले अर्को बिहे गरेपछि उनीहरूको सम्बन्धमा झन् फाटो आयो। अर्को बिहे गरेपछि सन्तोष कान्छी श्रीमतीसँग बस्न थाले। उनले आफू र छोरीहरूको वास्ता गर्न छोडेपछि लक्ष्मीले गुजारा चलाउन गाउँमै सानो चिया पसल सुरु गरिन्। पछिल्लो समय उनीबीच असमझदारी बढ्दै गएपछि सन्तोषले सोही पसलमा आगो लगाएर ज्यान मार्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

आगोले जलेर घाइते आमा र छोरीको स्वास्थ्य अवस्थामा सुधार आएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए। अहिले घाइते दुवै जनाको काठमाडौं स्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै उनीहरूलाई प्रहरीले उदार गरेर उपचारका लागि राजपुर स्थित सुजङ अस्पताल डोटीमा पुर्‍याइएको थियो। उनीहरूको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्

poster-here