नेपाल-बैंक-र-मुसिकोट-नगरपालिकाबीच-सम्झौता
नेपाल बैंक लिमिटेड र गुल्मीको मुसिकोट नगरपालिकाबीच सम्झौता भएको छ । उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
मुसिकोट नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । सम्झौता अनुसार नगरपालिकाले ब्याज सहुलियतका लागि केहि रकम बैंकमा धरौंटीको रुपमा राख्ने छ । नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका प्रमुख पासाङ दोर्जे शेर्पाले भने, “बैंकले नगरपालिकाको सिफारिसमा उद्यम गर्न चाहनेहरुलाई सहुलियत ब्याजदर वा निःशुल्क व्याजदरमा कर्जा प्रवाह गर्ने छ ।”
उद्यम गर्न चाहनेहरुका लागि नेपाल सरकारका विभिन्न कार्यक्रम तथा नगरपालिकाको समेत सहयोगमा सहुलियत दरमा ऋण प्रवाह गर्न लागेको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा २० करोड ऋण रकम प्रवाह गर्ने योजना रहेको र प्रत्येक वडाबाट छनौटमा पर्ने इच्छुक व्यक्तिहरुलाई बैंक मार्फत ऋण प्रवाह गरिने नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।
बैंकले उद्यम गर्न चाहेको प्रकृति अनुसार प्रतिव्यक्ति १५ लाख बढीसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सक्ने र उद्यमीका लागि दिइने कर्जामा कुनै पनि सेवा शुल्क नलाग्ने बैंक वामीटक्सार शाखाका प्रमुख राजु अर्यालले बताए । सो सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख सोमनाथ सापकोटा र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका प्रमुख पासाङ दोर्जे शेर्पाले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्