नेपाल–भारत सहकार्य: साझा चुनौती, नयाँ सम्भावना
पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका लागि नयाँ दिल्ली जाँदा मसँग एउटा स्पष्ट उद्देश्य थियो – सर्वसाधारण नागरिकलाई असर गर्ने समस्या समाधानका लागि नेपाल र यसको छिमेकी मिलेर कसरी काम गर्न सक्छन् भन्ने बाटो पहिल्याउनु।
हाम्रा देशहरूका प्राथमिकता फरक हुन सक्छन्, तर हामीले सामना गरिरहेका धेरैजसो चुनौतीहरू भने साझा छन्। लागुऔषध ओसारपसार, साइबर अपराध, आतंकवाद र प्राकृतिक विपद् राष्ट्रिय सीमामा रोकिँदैनन्।
यस सन्दर्भमा मुख्य कुरा के हो भने, हामी संवादलाई कसरी व्यवहारमा बदल्छौँ: सूचनाको द्रुत आदानप्रदान गर्ने, अपराधीहरूले फाइदा उठाउने छिद्रहरू बन्द गर्ने र सम्भावित क्षति हुनबाट जोगाउने।
दुई देशबिचका ऐतिहासिक र निरन्तर सम्बन्धहरू–हाम्रा समुदाय, संस्कृति (साझा सम्पदासहित), व्यापार–व्यवसाय, रोजगारी र जीविकोपार्जन–दुवैतर्फका राजनीतिक परिवर्तनहरूका बाबजुद अक्षुण्ण रहेका छन्। यो दीर्घकालीन मित्रताले हाम्रा परिवारहरूलाई अझ सुरक्षित, व्यवसायलाई अझ सुदृढ, समुदायलाई विपद्सँग जुध्न अझ सक्षम र अवसरहरूलाई थप सुलभ बनाउन मद्दत गर्नुपर्छ। यसको सुरुवात साझा चुनौतीहरूको समाधानका लागि मिलेर काम गर्नुबाटै हुनुपर्छ।
सुरुवाती कदमका रूपमा दुवै देशले लागुऔषधको अवैध ओसारपसार र दुर्व्यसन नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्छ। मैले आफ्नो युवावस्थाको धेरै समय काठमाडौँको प्रख्यात पर्यटकीय क्षेत्र ठमेलमा बिताएँ। त्यहाँ हुर्किँदा मैले समाजका विभिन्न पाटा प्रत्यक्ष देखेँ, जसमा लागुऔषधले व्यक्ति र परिवारलाई पुर्याउने गम्भीर क्षति पनि सामेल छ।
लागुऔषध तस्करीबारे मेरो दृष्टिकोण स्पष्ट छ: अवैध लागुऔषध उत्पादन गर्ने, लगानी गर्ने र वितरण गर्नेहरूले कानुनको पूर्ण कारबाही भोग्नैपर्छ। धनसम्पत्ति, प्रभाव र राजनीतिक पहुँचले कसैलाई पनि न्यायको कठघराबाट जोगाउनु हुँदैन। साथै, यस धन्दाबाट अनुचित नाफा कमाउनेहरू र दुर्व्यसनको चपेटामा परेकाहरूबिच हामीले भेद छुट्याउनु आवश्यक छ। कानुनको कठोर कार्यान्वयनसँगै रोकथाम, उपचार र पुनर्स्थापनाका उपायहरू पनि सँगसँगै अघि बढाइनुपर्छ।
नेपाल र भारतले गुप्तचरी सूचनाको आदानप्रदान, तस्करीका मार्गहरूको पहिचान, वित्तीय कारोबारको खोजी र लागुऔषध ओसार्ने भरिया मात्र नभई यसको पछाडि रहेका सम्पूर्ण सञ्जाललाई कानुनी दायरामा ल्याएर सहकार्यलाई थप मजबुत बनाउन सक्छन्।






प्रतिक्रिया दिनुहोस्