इरानविरुद्धको सैन्य अभियानमा अमेरिकाको खर्च ४७ अर्ब डलर पुग्यो
काठमाडौं । इरानविरुद्ध अमेरिकाले सञ्चालन गरेको सैन्य अभियानको खर्च ४७ अर्ब अमेरिकी डलर पुगेको छ । अमेरिकी सञ्चारमाध्यमकाअनुसार सेप्टेम्बरको सुरुआती अनुमानभन्दा पछिल्लो खर्च ३ अर्ब ५० करोड डलरले बढेको हो ।
अमेरिकी केन्द्रीय कमान्डले अक्टोबर १६ मा तयार पारेको र पेन्टागनले गत साता अमेरिकी कङ्ग्रेसलाई उपलब्ध गराएको पछिल्लो अनुमानमा सैन्य अभियानमा भएको खर्चको विवरण समेटिएको छ । उक्त अनुमानअनुसार प्रयोग भइसकेका हतियार तथा सैन्य सामग्री पुनः भण्डारण गर्न २९ अर्ब डलरभन्दा बढी खर्च लाग्नेछ । यसमा हवाई रक्षा प्रणालीका इन्टरसेप्टर क्षेप्यास्त्र र बमलगायतका सामग्री समावेश छन् ।
त्यस्तै, सैन्य कारबाहीका अतिरिक्त खर्चका लागि करिब १२ अर्ब डलर विनियोजन गरिएको छ भने क्षति पुगेका सैन्य उपकरण प्रतिस्थापन गर्न ६ अर्ब १० करोड डलर खर्च हुने अनुमान छ । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेयता अमेरिकी वायुसेनाले ७ अर्ब ६० करोड डलर खर्च गरिसकेको छ । यस अवधिमा स्थलसेनाको खर्च २ अर्ब १० करोड डलर र नौसेनाको खर्च १ अर्ब ५० करोड डलर पुगेको छ ।
यद्यपि, मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा पुगेको क्षतिको खर्च भने यस अनुमानमा समावेश गरिएको छैन । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश प्राप्त भएको ९६ घण्टाभित्र इरानविरुद्ध नयाँ तथा सम्भावित रूपमा ठूलो सैन्य कारबाही सुरु गर्न पेन्टागन तयार रहेको सीएनएनले सोमवार जनाएको छ । इरानविरुद्धको सैन्य अभियानमा खर्च बढ्दै गएको विवरण सार्वजनिक भइरहेका बेला थप सैन्य कारबाहीको तयारीसम्बन्धी समाचार बाहिर आएको हो ।






प्रतिक्रिया दिनुहोस्