इबोलाको प्रकोप विस्तारिँदै, अफ्रिकी मुलुकहरूमा चुनौती बढ्यो

काठमाडौँ : नाइजेरियामा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएपछि अफ्रिकामा प्रकोप थप जटिल बन्न सक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दिएको छ । डब्लुएचओका अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले भाइरसको फैलावटले महादेशका स्वास्थ्य प्रणालीमाथि थप चुनौती सिर्जना गरेको बताएका छन् ।

बिहीबार आयोजित अनलाइन सञ्चारमाध्यम ब्रिफिङमा उनले पूर्वी अफ्रिकाबाट नाइजेरियामा भाइरस प्रवेश गरेको पुष्टि गर्दै पश्चिम अफ्रिकामा देखिएको यो पहिलो घटना भएको बताए ।

frontline

नाइजेरियाले मङ्गलबार बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसबाट एक महिलामा सङ्क्रमण पुष्टि भएको जनाएको थियो। ती महिला कूटनीतिज्ञ रहेको र हालै युगान्डाको भ्रमणबाट फर्किएको बताइएको छ । यही प्रजातिको भाइरसका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा पनि ठूलो प्रकोप फैलिएको छ ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक नाइजेरिया यस प्रकोपबाट प्रभावित हुने चौथो अफ्रिकी देश बनेको छ । पूर्वी अफ्रिकाको केन्यामा पनि अक्टोबर ६ यता नौ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

पछिल्लो घटनाले सन् २०१४ मा पश्चिम अफ्रिकामा फैलिएको विनाशकारी इबोला प्रकोपको स्मरण गराएको छ । सन् २०१३ को अन्त्यदेखि २०१६ सम्म फैलिएको उक्त प्रकोपमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

यसअघि इबोला प्रकोप सफलतापूर्वक नियन्त्रणमा लिएको अनुभवका आधारमा नाइजेरियाले यसपटक पनि प्रभावकारी रूपमा प्रतिकार्य गर्न सक्ने अपेक्षा गरिएको छ । यद्यपि, विभिन्न देशमा सङ्क्रमण देखिन थालेपछि भाइरसको थप फैलावट रोक्नु स्वास्थ्य अधिकारीहरूका लागि चुनौती बनेको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार डीआर कङ्गोमा फैलिएको पछिल्लो इबोला प्रकोप देशकै इतिहासमा सबैभन्दा घातकमध्ये एक बनेको छ। मे महिनाको मध्यदेखि त्यहाँ नौ हजारभन्दा बढी सङ्क्रमित फेला परेको र चार हजार ३८१ जनाको मृत्यु भएको जनाइएको छ ।

इबोला भाइरसबाट हुने रोग गम्भीर र कहिलेकाहीँ घातक हुन सक्छ । सङ्क्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ वा दूषित सामग्रीको प्रत्यक्ष सम्पर्कबाट यो सर्न सक्छ । विभिन्न देशमा सङ्क्रमण देखिन थालेपछि यसको पहिचान, बिरामीको उपचार र सङ्क्रमण नियन्त्रणका उपायलाई प्रभावकारी बनाउनु आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here