नाम्खाको लिमिमा हिमपात : ३५० हाराहारी पशु चौपाया थुनिए, उद्धारमा समस्या
हुम्ला : असोज १० र ११ गते परेको हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमि क्षेत्रमा करिब ३००/ ३५० वटासम्म याक, झोपा र घोडा पाटनमै थुनिएका छन्। हिमपातपछि सडकमा जमेको हिउँ पन्छाउन नसक्दा पशु चौपायाको अवस्था बुझ्नसमेत कठिन भएको छ।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार हिमपात हुनुअघि चराउनका लागि पाटनमा लगिएका पशु चौपाया असोज १० गतेदेखि लगातार परेको हिउँका कारण उतै थुनिएका बताए। पशु चौपाया जीवित छन् वा मरेका छन् भन्नेबारे अहिलेसम्म यकिन जानकारी हुन नसकेको उनले बताए।
लिमि क्षेत्रका तिल, हल्जी र जाँङ गाउँका स्थानीयवासीका पशु चौपाया थुनिएको बताउँदै वडाध्यक्ष तामाङले टाक्चीदेखि माथिल्लो क्षेत्रमा जान दुई–तीन पटक प्रयास गरे पनि सडकमा जमेको हिउँका कारण जान नसकिएको बताए। उनका अनुसार पशु चौपायाको अवस्था बुझ्न तथा सम्भावित उद्धारका लागि शनिबार पुनः त्यसतर्फ जाने तयारी गरिएको बताए। पशु चौपाया थुनिएपछि स्थानीयवासीले उद्धारका लागि गाउँपालिकासँग आग्रह गरेका छन्। तर, हिमपातका कारण सडक अवरुद्ध हुँदा उद्धारमा समस्या भएको छ।






प्रतिक्रिया दिनुहोस्