फ्रान्समा रेल र मिनीबस ठोक्किँदा १९ जना घाइते, २ गम्भीर
काठमाडौं : फ्रान्समा च्यानल टनेलको प्रवेशद्वारस्थित युरोटनेलको लोडिङ प्लेटफर्ममा मालवाहक रेल र मिनीबस ठोक्किँदा १९ जना घाइते भएका छन् ।
बिबिसिका उल्लेख गरिए अनुसार सवारीसाधनलाई ‘ले शटल’ मा चढाउने क्रममा दुर्घटना भएको हो । मिनीबसमा शटलमार्फत यात्रा गर्न लागेका भारी मालवाहक सवारीसाधनका चालकहरू सवार रहेको बताइएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि लिलीस्थित अस्पताल लगिएको छ । दुर्घटनामा मिनीबसका चालक पनि घाइते भएका छन् ।
अधिकारीहरूले दुर्घटनामा कसैको मृत्यु नभएको र कुनै पनि घाइतेको अवस्था जीवनका लागि जोखिमपूर्ण नरहेको बताएका छन् ।
घटनापछि आपत्कालीन उद्धार तथा स्वास्थ्य सेवाका टोली घटनास्थलमा परिचालित भएका छन् । दुर्घटनाका कारण रेल सेवामा असर पर्ने आशंका भइरहेका बेला युरोस्टारले भने आफ्ना सबै रेल निर्धारित तालिकाअनुसार सञ्चालन हुने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्