अमेरिकाको विद्यालयमा गोलीकाण्ड, तीन बालबालिकासहित चार जनाको मृत्यु
काठमाडौं : अमेरिकाको ओरेगन राज्यस्थित बेन्डमा रहेको सिल्भर रेल प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ ।
बिबिसिमा उल्लेख भए अनुसार घटनामा १६ वर्षीय किशोर बन्दुकधारीको पनि मृत्यु भएको छ । प्रहरी घटनास्थलमा पुग्दा बन्दुकधारी विद्यालयभित्रै मृत अवस्थामा फेला परेका थिए । उनको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनामा घाइते भएका कम्तीमा दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ । गोलीकाण्डपछि विद्यालयलाई तत्कालै सुरक्षा घेरामा राखिएको थियो भने विद्यार्थीका परिवारलाई भेटघाट गराउन नजिकैको चर्चमा पुनर्मिलन केन्द्र स्थापना गरिएको थियो ।
बेन्ड–ला पाइन विद्यालयका सुपरिटेन्डेन्ट स्टिभन कुकले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवार र प्रभावित समुदायप्रति समवेदना प्रकट गरेका छन् ।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) पनि घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ ।
घटनापछि अमेरिकामा विद्यालयमा हुने गोलीकाण्ड र बन्दुक हिंसा नियन्त्रणको विषय फेरि चर्चामा आएको छ । ओरेगनका सिनेटर रोन वाइडेनले घटनाप्रति दुःख व्यक्त गर्दै बन्दुक हिंसा नियन्त्रणका लागि थप कदम चाल्नुपर्ने बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्