डेढ महिनादेखि रिक्त छन् गण्डकीका ३ मन्त्रालय

पोखरा । गण्डकीमा ३ वटा मन्त्रालय डेढ महिनादेखि रिक्त छन् । नेकपा एमालेले सत्ता साझेदारी तोडेपछि रिक्त रहेका मन्त्रालयमा अझै मन्त्रीहरू नियुक्त भएका छैनन् । 

गण्डकीमा एमालेका ४ मन्त्री थिए । केन्द्रमा भएको नयाँ समीकरणपछि गण्डकी सरकारबाट उनीहरूले सामूहिक राजीनामा दिएका थिए । भदौ १० गते राजीनामा दिएकामा त्यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीहरू नियुक्त गरेका छैनन् ।

frontline

रिक्त रहेको मन्त्रालयमध्ये नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा नयाँ मन्त्री बनेका छन् । उनलाई कांग्रेसको कोटामा रहेको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । यो मन्त्रालय सम्हालिरहेका नन्दप्रसाद न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उनले स्वास्थ्य मन्त्रालय समेत सम्हालिरहेका छन् । अर्थमन्त्रीमा कांग्रेसकै जीत शेरचन, सामाजिक विकास, युवा तथा खेलकुदमा रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीमा नम्डु गुरुङ यथावत् छन् ।

बाँकी रहेका सबै मन्त्रालय मुख्यमन्त्री पाण्डेसँग छ । स्वास्थ्यसँगै उद्योग तथा पर्यटन र कृषि मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नुपर्ने छ । तत्काल मन्त्रीहरू नियुक्त हुने सम्भावना अझै नरहेको निकटस्थ स्रोत बताउँछ ।

 सत्ता गठबन्धन परिवर्तन र नेपाली कांग्रेसको महाधिवेशनका कारण सरकार विस्तारमा ढिलाइ भएको बताइएको छ । ‘राप्रपा आएपछि नियुक्त गर्ने कुरा थियो । पार्टीको महाधिवेशनले रोकिएको हुन सक्छ,’ कांग्रेसका सांसद नन्दप्रसाद न्यौपाने भन्छन्, ‘यसको सबै जिम्मेवारी मुख्यमन्त्रीको भएकोले उहाँले नै कुरा गरिरहनुभएको छ । के कुरा भइरहेको छ थाहा छैन ।’

नयाँ मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा मन्त्रालय पाउने पक्काजस्तै छ । तर मन्त्रालयको टुङ्गो भने लागिसकेको छैन । दसैँअघि विस्तार गर्ने कि पछि गर्ने भन्ने छलफल चलिरहेको राप्रपा स्रोतले जनायो । ‘गण्डकीमा राप्रपाले २ वटै मन्त्रालय मागेका छन् । दुवै जना मन्त्री बनाउनुपर्ने माग उहाँहरूको छ,’ उच्च स्रोतले भन्यो, ‘प्रदेशको समीकरणका कारण उहाँहरूले मागेअनुसार नै मन्त्रालय दिने कुरा छ । सम्भवतः २ वटैमा राप्रपाका मन्त्री हुन्छन् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here