ट्रम्पबाट धोका पाएको जेलेन्स्कीको स्वीकारोक्ति, रुसी इन्धन सम्झौता र स्टारलिंक अवरोधले चिन्तित
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग इन्धन खरिदसम्बन्धी सम्झौता गरेपछि आफूले धोका पाएको महसुस गरेको बताएका छन् । अमेरिका र युक्रेनबिच सम्बन्ध तनावपूर्ण भइरहेका बेला अमेरिकी कम्पनी स्पेसएक्सले सञ्चालन गर्ने स्टारलिंकको सैन्य सेवामा लगाइएको प्रतिबन्धले युक्रेनको ड्रोन आक्रमण र हवाई प्रतिरक्षा क्षमतामा समेत असर पारेको छ ।
बुधबार बेलायती सञ्चार व्यक्तित्व पियर्स मोर्गनको युट्युब कार्यक्रम ‘पियर्स मोर्गन अनसेन्सर्ड’मा बोल्दै जेलेन्स्कीले ट्रम्प प्रशासनबाट आफूले धोका पाएको हो भन्ने प्रश्नमा ‘हो’ भने । उनले रुससँगको इन्धन सम्झौतालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्रेमलिनको ‘सहज विजय’को संज्ञा दिए ।
‘हामीले एउटा बलियो साझेदार गुमाउँदै गएकोमा दुःख लागेको छ,’ उनले भने । गत साता ट्रम्पले रुसले आफ्नो डिजेल इन्धन विश्व बजारमा आपूर्ति गर्न सहमति जनाएको बताएका थिए । अमेरिकामा ऊर्जा लागत घटाउने र मध्यावधि निर्वाचनअघि मतदाताको असन्तुष्टि कम गर्ने प्रयासस्वरूप यस्तो निर्णय गरिएको हो । तर, यसले अमेरिकी राजनीतिमा आलोचना र युरोपेली सहयोगीहरूमा असन्तुष्टि बढाएको छ ।
‘यो हाम्रो देश हो, हाम्रो घर हो, हाम्रा छोराछोरी हुन् । त्यसैले ट्रम्पले एउटा पक्ष रोज्दा पीडा हुन्छ,’ जेलेन्स्कीले भने । मध्यस्थकर्ताले दुवै पक्षप्रति समान व्यवहार गर्नुपर्ने उल्लेख गर्दै उनले ट्रम्प गलत पक्षमा उभिएको आरोप लगाए ।






प्रतिक्रिया दिनुहोस्