पहिलो र दोस्रो सिजनभन्दा फरक हुनेछ यसपालिको एनपीएल, के के हुँदै छ परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) को हरेक संस्करणमा फरकपन दिइरहेको नेपाल क्रिकेट संघ (क्यान)ले यो पटक पनि दर्शकहरुलाई सरप्राइजको तयारी गरेको छ। 

पहिलो संस्करण घाँसे मैदानमा बसेर क्रिकेट हेरेका दर्शकले दोस्रो संस्करण प्यारापिटमा बसेर फ्लडलाइटमा एनपीएलको मज्जा लिए। 

frontline

तेस्रो सिजनमा पनि दर्शकले क्यानबाट केही न केही ‘सरप्राइज’ पाउन सक्नेछन्। यो सिजन विशेष बनाउन क्यानले आवश्यक गृहकार्य गरिरहेको छ। 

अब २ सातापछि तेस्रो सिजन सुरु हुनेछ। एनपीएल सुरु हुने दिन नजिकिँदै जाँदा क्यानले मैदानदेखि व्यवस्थापकीय पक्षलाई पनि अन्तिम रुप दिँदै छ। 

पहिलो सिजनमा एनपीएललाई कसरी स्थापित गराउने भन्ने थियो। तर दोस्रो सिजन सफलतासाथ सम्पन्न गरेको क्यानले तेस्रो सिजनमा एनपीएलको ‘ब्रान्ड भ्यालु’ उकास्दै लैजाने योजनामा देखिन्छ। 

यसमा क्यानलाई एनपीएल फ्रेन्चाइज टोलीहरुले पनि सघाइरहेका छन्। विश्वका चर्चित खेलाडी ल्याउन होडबाजी चल्न थाल्नु यसैको उदाहरण हो। 

https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Freel%2F1279200271467417%2F&show_text=false&width=560&t=0

तेस्रो सिजनमा के परिवर्तन हुँदै छन्? 
एनपीएलको तेस्रो सिजनमा देखिएको पहिलो परिवर्तन भनेको खेल तालिका हो। यसअघि मंसिरमा हुँदै आएको एनपीएल यो पटक चाडबाडको बीचमा सुरु हुँदै छ। 

दशैँलगत्तै सुरु हुने एनपीएल तिहार र छठको समयमा हुनेछन्। यसले दर्शकको हिसाबले केही प्रभाव पर्न सक्ने आकलन गरिएको छ। 

चाडवाडको समयमा खेल हुँदा काठमाडौं उपत्यकामा बसोबास गर्ने दर्शकहरु आफ्नो जन्मथलो फर्किनेछन्। यद्यपि यसले धेरै असर नगर्ने क्यानले जनाएको छ। 

सम्भव हुनेले मैदानमा आएर र नहुनेले टेलिभिजन र ओटीटी प्लेटफर्मबाट हेर्न पाउनेछन्। 
 
पहिलो र दोस्रो सिजन मैदान र प्यारापिटको क्षमताभन्दा बढी टिकट बेचेको आरोप लाग्दै आएको थियो। त्यसको असर प्रत्यक्ष देखिन्थ्यो। तर यो पटक टिकट खरिद गरेर पनि स्टेडियमभित्र जान नपाउने दर्शकका लागि पैसा फिर्ता गरिने क्यानले बताइसकेको छ। 

पहिलो सिजन शिखर धवन, जिम्मी निशम, मार्टिन गप्टिललगायतका खेलाडी टीयू मैदानमा उत्रिए। जसले एनपीएललाई विश्वमञ्चमा स्थापित गराउन सहयोग गर्यो। 

दोस्रो सिजन फाफ डु प्लेसिस, क्रिस लिनजस्ता खेलाडी नेपाल आइपुगे। तेस्रो सिजनका लागि अहिलेसम्म डेविड वार्नर, शकिब अल हसन, सिकन्दर राजा, चरिथ अशलंकालगायतका खेलाडी आउने निश्चित भइसकेको छ। 

यद्यपि यी खेलाडीहरुले पूरै सिजन खेल्नेछन् छन् कि केही खेलका लागि आउँछन् भन्ने अहिलेसम्म केही कुरा बाहिर आएको छैन। 

तथापि विश्वस्तरीय खेलाडी नेपाली लिगका लागि आउँदा यसले एनपीएललाई थप उचाइमा पुर्याउनेछ।

चर्चित विदेशी खेलाडी नेपाल आउँदा एनपीएलमा सहभागी नेपाली खेलाडीहरुले केही कुरा पक्कै सिक्न पाउनेछन्। 

यो पटक एनपीएलका लागि क्यानले आईसीसीको मान्यता र डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को आधिकारिक घोषणा गर्न बाँकी छ। आईसीसीको मान्यताका लागि क्यानले आफ्नो तर्फबाट सबै प्रक्रिया पूरा गरिसकेको छ। 

एनपीएल सुरु हुने समयसम्म आईसीसी मान्यता पाउने आशा क्यानले गरेको छ। 

डीआरएसका लागि क्यानले फरक कम्पनीसँग परिक्षण गरिसकेको छ। यद्यपि नेपालको ब्रोडकास्ट कम्पनीसँगको अन्तिम परीक्षण गर्न भने बाँकी छ। 

तेस्रो सिजनका लागि क्यानले मैदानको अवस्था सुधारदेखि प्यारापिटका सिटलाई व्यवस्थित गर्नदेखि थप्नेसम्मको काम गरेको छ। भीआईपी कक्ष, मिडिया बक्स, शौचालयदेखि लिएर अन्य भौतिक संरचना थप गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here