पोखरामा भेडाच्याङ्ग्रा बिक्री गर्न हाटबजार सञ्चालन
२७ असोज, कास्की । दसैंलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङ्ग्रा ल्याएका हुन्। पोखरा महानगरपालिका–१ सिमपानी र वडा नं. २५ हेमजामा हाटबजार सञ्चालनमा छन्।
पोखरा महानगरपालिकाको पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक–एक हजार भेडाच्याङ्ग्रा ल्याइसकिएको छ। केही भेडाच्याङ्ग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिनअघि बजारमा आइपुग्ने उनले बताए।
गण्डकी प्रदेशका अन्य जिल्लाबाट पनि स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याइन्छ। अधिकारीका अनुसार केही व्यापारीले हाटबजारमा भेडाच्याङ्ग्रा ल्याइसकेका छन् भने केहीले पोखरावरपरका चरन क्षेत्रमा राखेका छन्।
यसैबीच, पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले भेडाच्याङ्ग्राको स्वास्थ्य अवस्था र बिक्री वितरणको अनुगमन थालेको छ। अनुगमनमा अधिकांश भेडाच्याङ्ग्रा स्वस्थ पाइएको र फूलपातीसम्म अनुगमन जारी रहने जनाइएको छ।






प्रतिक्रिया दिनुहोस्