पाल्पाका भगवती मन्दिरमा भक्तजनहरूको भिडभाड
तानसेन :आज वडादसैंको पहिलो दिन घटस्थापनाको दिन। पाल्पाका विभिन्न शक्तिपिठ तथा देवी भगवतीका मन्दिरमा भक्तजनहरूको भिडभाड बढेको छ । भक्तजनहरू बिहानै नदी तलाउ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पूजापाठ तथा देवीको दर्शनका लागि भगवती दुर्गाका मन्दिर पुगेका छन् ।
नवदुर्गा सुरू भएपछि भगवती मन्दिरका वरिपरी भक्तजनहरू भजन कृर्तन,दुर्गा तथा चण्डी पाठ गर्दै देवीको आराधनामा जुटेका हुन् । तानसेनको भगवती मन्दिर परिसरमा परम्परागत नेवारी भाषाको डाफा भजनले संस्कृति जोगाएको छ । लोपन्मुख अवस्थामा पुगेको नेवारी डाफा भजनलाई संरक्षणको लागि पाका पुस्तासँगै युवाहरू जोडिएका छन् ।
भगवती मन्दिरमा तानसेन भजन संरक्षण समिति र भगवती भजन समूहले नियमितरुपमा नवदुर्गा समय भरी बिहानमा डाफा भजन गर्दै आएका छन् । तानसेनको भगवती मन्दिर,भैरवस्थानको भैरव मन्दिर,रम्भाको रम्भादेवी मन्दिर, दर्लाम महाकाली कन्दिर,बगनासकाली मन्दिर भुवनपोखरीको रैनादेवी मन्दिर,बतासेको कालिका मन्दिरलगायतका मन्दिरमा पूजाआजाका लागि भक्तजनको अध्याधिक भिड हुने गर्दछ ।






प्रतिक्रिया दिनुहोस्