सीजेपीको प्रदर्शनमा सहभागी अभिनेता इमरान खान पक्राउ
याँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सीजेपी) को समर्थनमा भइरहेको प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ।
नियन्त्रणमा लिनुअघि उनले आवतजावतको स्वतन्त्रतामाथि लगाइएका प्रतिबन्ध र सर्वसाधारणको आवाज दबाइएको विषयमा प्रश्न उठाउन आफू प्रदर्शनस्थलमा आएको बताएका थिए।
खानले आफू कुनै माग राख्न वा कुनै संगठनको प्रतिनिधिका रूपमा प्रदर्शनमा सहभागी नभएको स्पष्ट पारेका थिए। ‘म कुनै माग लिएर आएको होइन, म यो सहरमा बस्ने एक नागरिकका रूपमा यहाँ आएको हुँ,’ उनले भने, ‘आवतजावतको स्वतन्त्रता किन सीमित गरिँदै छ र मानिसहरूको आवाज किन दबाइँदै छ भन्ने बुझ्न आएको हुँ।’
आफू कसैसँग माग राख्ने अवस्थामा नरहेको र कुनै पनि संगठनसँग आबद्ध नभएको पनि उनले बताए। आफू केवल एक नागरिकका रूपमा प्रदर्शनमा उपस्थित भएको उनको भनाइ थियो। खानलाई प्रहरीले नियन्त्रणमा लिनुअघि उनले दिएको यो अभिव्यक्ति एएनआईले सार्वजनिक गरेको हो।






प्रतिक्रिया दिनुहोस्