नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन् । छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दसैँ मनाउन घर फर्किने गरेका छन् ।
देहरादुन रोजगारी गर्दै आएका अछामको ढकारीका खगेन्द्र बुढा पनि आफ्ना पाँच जना साथीसँगै चाडपर्व मनाउन घर फर्किँदै गर्दा गड्डाचौकी नाकामा भेटिए । “देहरादुनमा हामीहरू रोडमा काम गर्छौ दसैँ मनाउन घर फर्किएका हौँ”, उनले भने, “दसैँतिहार मनाएर फेरि रोजगारीका लागि उतै जानुपर्छ ।” नेपालमा रोजगारी नहुँदा यहाँबाट थुप्रै मानिस मजदुरीका लागि भारतका विभिन्न सहरमा पुग्ने गरेको उनको भनाइ छ ।
कालीकोटका निगेन्द्र शाहीले पनि हिमाञ्चल प्रदेशबाट चाडपर्व मनाउन घर फर्किएको बताए । “हिमाञ्चलमा खेतीपातीको काम गर्छौँ, त्यसको कमाइले घरखर्च चलेको छ”, उहाँले भन्नुभयो, “दसैँ मनाउन आउँछौ तिहारपछि फर्किने हो ।” उनले आफूसँगै रोजगारीका लागि गएकाहरू पनि चाडपर्व मनाउन दसैँको बेला घर फर्किने र चाडपर्वपछि रोजगारीका लागि पुनः भारत जाने गरेको बताए ।






प्रतिक्रिया दिनुहोस्