देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघ गर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल देशका पहाडी र हिमाली भाग, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ । अन्य क्षेत्रमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।
हिमाली र पहाडी भागका केही स्थानमा मेघ गर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । मधेससहित कोशी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।






प्रतिक्रिया दिनुहोस्