पुटिन र ट्रम्पका दूतबिच बन्द कोठाभित्र ३ घण्टा वार्ता
अमेरिकाले रुस-युक्रेन युद्ध अन्त्य गर्न फेरि प्रयास तीव्र पारेको छ।
यस क्रममा अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूले शनिबार मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।
क्रेमलिनले जारी गरेको फुटेजमा अमेरिकी दूत स्टभ विटकफ र जारेड कुसनरले पुटिनलाई अभिवादन गरेको देखिन्छ।
पुटिनले भनेका छन्, ‘वर्तमान अवस्था त्यति सरल छैन। रुसले परिस्थितिलाई कसरी हेर्छ भनेर व्याख्या गर्नेछ।’
विटकफले युक्रेनसँग तीन दिनका लागि एकअर्काको राजधानीमा आक्रमण रोक्न सहमत भएकामा पुटिनलाई धन्यवाद दिए।
बीबीसीका अनुसार आइतबार अमेरिकी राजदूतहरू थप वार्ताका लागि युक्रेनको राजधानी किभ जानेछन्।
शुक्रबार ट्रम्पले भनेका थिए, ‘विटकफ र कुसनरले युद्ध अन्त्य गर्ने प्रस्ताव ल्याउँदै छन्।’
अहिलेसम्म शान्ति सम्झौतामा पुग्न अमेरिका र यसका सहयोगीले गरेका प्रयास असफल भएका छन्।
शनिबार क्रेमलिनमा भएको वार्ताका क्रममा पुटिनले यसो पनि भने, ‘यस्ता सम्पर्क सधैँ उपयोगी हुन्छन्, परिस्थिति जस्तोसुकै भए पनि।’
उनले शान्ति स्थापना गर्न गरिरहेको प्रयासका लागि ट्रम्पलाई धन्यवाद पनि दिए।
उनले राजदूतहरूलाई उनीहरूसँग काम गर्न ‘सहज’ भएको बताए।
रुसका सरकारी सञ्चारमाध्यमका अनुसार राजधानीको केन्द्रमा रहेको पुटिनको आधिकारिक निवासमा ढोका बन्द गरेर तीन घण्टासम्म वार्ता भएको थियो।
यसैबिच शनिबारै युक्रेनका राष्ट्रपति भोलोदपमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले भर्खरै अमेरिकी राष्ट्रपतिका प्रतिनिधिहरूसँग कुरा गरेको छु। उनीहरूले आज रुसी पक्षसँग काम गर्न थालेका छन्। त्यसबेलादेखि हामी वार्ता प्रक्रियामा संलग्न सहरहरूमा हवाई आक्रमण रोक्न तयार छौँ।’






प्रतिक्रिया दिनुहोस्