संक्रमण बढी देखिएका ठाउँका विद्यालय बन्द गर्नुपर्ने

कोरोना भाइरसको उच्च संक्रमण दर देखिएका ठाउँमा तत्काल विद्यालय बन्द नगरे भयावह स्थिति सिर्जना हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत संक्रमण बढी देखिएका ठाउँका विद्यालय बन्द गर्नुपर्ने पक्षमा छ । 

केही दिनयता दिनहुँ थपिने संक्रमितमध्ये सरदर १० प्रतिशत बालबालिका छन् । भाइरसको नयाँ भेरिएन्ट (प्रजाति) ले समेत यो वर्ग व्यापक रूपमा प्रभावित हुन थालेको विज्ञहरूको भनाइ छ । ‘यो उच्च सतर्कता अपनाउनुपर्ने समय हो, जहाँ संक्रमण धेरै देखिन्छ, त्यहाँ तुरुन्त विद्यालय बन्द नगरे भयावह स्थिति आउन सक्छ,’ महाराजगन्जस्थित कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छा भन्छन्, ‘केही दिनयता अवस्था खराब हुँदै गएको छ । नयाँ भेरिएन्ट पहिलेको दाँजोमा उच्च संक्रामक र मृत्युदरसमेत बढी गराउने गरी देखिएको छ ।’

frontline

उनका अनुसार कोरोना संक्रमण फेरि तीव्र विस्तार भइरहँदा बालबालिकाहरू गत वर्षको दाँजोमा धेरै प्रभावित भइरहेका छन् । कोरोनाको पहिलो लहरमा उनीहरूमा कम प्रभाव देखिएको थियो । लकडाउनका कारण बालबालिका घरमै बस्नु, सामाजिक रूपमा बढी घुलमिल नहुनु र शैक्षिक संस्था पूर्ण रूपमा बन्द रहनुले संक्रमण भयावह हुन नपाएको उनको भनाइ छ । ‘केही महिनादेखि विद्यालय सञ्चालनमा छन् । पहिलेको दाँजोमा बढी संक्रामक र मृत्यु गराउन सक्ने भाइरसको नयाँ भेरिएन्ट आउँदा बालबालिका बढी प्रभावित हुन थालेका हुन्,’ उनले भने ।

संक्रमण देखिएको ठाउँमा विद्यालय बन्द नगरे मुलुकभरको संक्रमण दरमा अत्यधिक वृद्घि हुन सक्ने विज्ञहरूको आकलन छ । ‘बच्चामा कोभिड एसिम्टोम्याटिक (लक्षण नभएको) देखिने दर उच्च देखिएको छ भने यस्तो अवस्थामा घर, समाज, विद्यालयमा बच्चासँग सामाजिक दूरी कायम राख्नु जटिल चुनौती हुन जान्छ । किनकि उनीहरूसँग सबैको सामीप्यता स्वभावतः अरू उमेर समूहको भन्दा बढी हुन्छ,’ उनले भने ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले समेत सरकार तुरुन्त ‘एक्सन’ मा गएर विद्यालयमा पठनपाठन रोक्नुपर्ने सुझाए । हाल बालबालिकाबाट संक्रमणको विस्तार भइरहेको दाबी गर्दै डा. बीसी भन्छन्, ‘विद्यालय सञ्चालकहरूले मात्र बन्द गर्न हुन्न भन्नु हुन्छ । जनस्वास्थ्यको दृष्टिले संक्रमणको चक्र तोड्न (चेन ब्रेक) विद्यालय बन्द गर्नु नै पर्छ । यो रोग अत्यधिक फैलिएपछि विद्यालय बन्द गर्नुको कुनै अर्थ रहँदैन ।’ समाजमा संक्रमण विस्तारमा धेरै सघाउने वर्ग पनि बालबालिका हुन् । अहिलेकै अवस्थामा कम्तीमा ३–४ साता विद्यालय बन्द गरी वैकल्पिक कक्षा सञ्चालन नगरिए सघन उपचारमा जाने र मृत्यु हुनेहरूको संख्या अप्रत्याशित बढ्न सक्ने उनले चेतावनीसमेत दिए ।

जस्तोसुकै प्रयास गरिए पनि विद्यालयमा बालबालिकालाई पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गराउन सहज नहुने बताउँछन् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी । संक्रमण उच्च भएको ठाउँमा विद्यालय बन्द गर्नुपर्ने पक्षमा मन्त्रालयसमेत रहेको उनले जनाए ।

मंगलबार मुलुकभर ४ हजार ३८६ नमुनाको पीसीआर परीक्षण गर्दा ४६० जना संक्रमित थपिए । जसको संक्रमण दर १०.४८ प्रतिशत छ । ९७ जना आईसीयू र २० जना भेन्टिलेटरमा गरी ११७ जना संक्रमित सघन उपचारमा छन् । पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ५ जनाको मृत्यु भएको छ । सोमबार यो संख्या १३ थियो । हालसम्म ३ हजार ५८ जनाको मृत्यु भएकामा ९ वर्षसम्मका २४ जना र १०–१९ वर्ष उमेर समूहका २२ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here