९० को दशकसम्म नेतृत्व नछाड्ने ओली र प्रचण्डको सङ्केत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १६ गते अझै दुई कार्यकाल नेतृत्व नछाड्ने स्पष्ट सन्देश दिए । पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान अन्तर्गत बर्दियाको राजापुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले तत्काल नेतृत्व नछाड्ने सन्देश दिएका हुन् ।

पछिल्लो समय नेतृत्व हस्तान्तरण या पुस्तान्तरणको विषयमा पार्टीभित्रै बहस तीव्र भइरहेको बेला प्रचण्डले आफूलाई अध्यक्षमा निर्विकल्प रूपमा उभ्याएका छन् । पार्टीको विभिन्न बैठकमा अधिकांश नेताले पार्टी निर्माणका लागि नेतृत्व चयन, हस्तान्तरणको विधि, पद्धति र प्रक्रियाको विकास गर्नुपर्ने धारणा राखेका थिए । उपमहासचिव जनार्दन शर्माले गत वर्ष साउनमा पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभारबारे १४ पृष्ठको प्रस्ताव नै स्थायी समितिमा पेस गरेका थिए । यद्यपि पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले शर्माको प्रस्तावलाई समेत समेटेर सहमति गरेको थियो ।

frontline

बैठकको निर्णय बमोजिम फागुन १२ गते झापाबाट सुरु भएको अभियान वैशाख १७ गते कञ्चनपुर पुगेर सम्पन्न भइसकेको छ । अध्यक्ष प्रचण्डले अभियानको क्रममा एक करोड मानिससँग प्रत्यक्ष वा परोक्ष संवाद भएको दाबी गरेका छन् । सबैको सुझावका आधारमा एउटा ठेली नै बनाउने उनको भनाइ छ ।

एक महिने अभियानका दौरान आफैँ मैदानमा उत्रिएका प्रचण्डले पूर्वदेखि पश्चिमसम्म जनभावना बुझ्ने प्रयास गरेका छन् । २० वटा जिल्लाको प्रत्येक सहरमा ठुल्ठुला विरोधसभा, कोणसभा, अन्तर्क्रिया, भेटघाट, मर्निङ वाक, प्रशिक्षण, पार्टी प्रवेश कार्यक्रममा उनी सहभागी भए ।


‘अझै ५–७ वर्ष म मर्न हुन्न, दुई कार्यकालपछि मात्र नेतृत्व हस्तान्तरण गर्छु । त्यसपछि जिम्मेवारीको नेतृत्व लिन तयारी अवस्थामा साथीहरू हुनुहुन्छ नै’


शान्ति प्रक्रियापछि कहिले कांग्रेस, कहिले एमालेसँग मिलेर सत्ताको लाभमा फस्दा आफूहरू पनि बिग्रिएकाले कमजोर भएको स्विकार्दै उनले शक्ति आर्जन गर्न फेरि वर्ग समुदायमै फर्किएको बताएका छन् । सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्गता भएका परिवारका सदस्यहरू, स्थानीय नेता तथा कार्यकर्ता, जनप्रतिनिधिको मनोभावना बुझेका उनले अझै दुई कार्यकाल नेतृत्व हस्तान्तरण नगर्ने बताएका थिए ।

‘अझै ५–७ वर्ष म मर्न हुन्न, दुई कार्यकालपछि मात्र नेतृत्व हस्तान्तरण गर्छु । त्यसपछि जिम्मेवारीको नेतृत्व लिन तयारी अवस्थामा साथीहरू हुनुहुन्छ नै’, विरोध सभामा प्रचण्डले भनेका थिए, ‘जनताको अधिकार स्थापित गर्न, हामीले थालेका केही अभियान टुङ्ग्याउन र छिन्नभिन्न माओवादी घटक जुटाउन मेरो काम बाँकी छ ।’

२०४५ सालमा नेकपा मशालको महामन्त्री भएका प्रचण्ड लगातार ३७ वर्ष अध्यक्ष/महामन्त्री भए । उनले तीन पटक सरकारको नेतृत्व गरिसकेका छन् ।

प्रचण्डले पार्टीको विधानमार्फत नवौँ महाधिवेशनमा पनि अध्यक्ष बन्ने बाटो खुला राखेका छन् । विशेष महाधिवेशनको सम्भावना नभएको प्रवक्ता अग्निप्रसाद सापकोटाले सङ्केत गरेका छन् । २०८३ मा नियमित महाधिवेशन हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि २०८४ को निर्वाचनअघि महाधिवेशन हुने ग्यारेन्टी नरहेको नेताहरू बताउँछन् । सापकोटा पनि परिस्थिति अनुसार महाधिवेशनको निर्णय हुने बताउँछन् । ‘त्यो ठोस परिस्थिति हेरेपछि निर्धारण हुन्छ । अहिले नै भन्ने कुरा होइन’, उनले भने ।

प्रचण्ड गत मंसिरमा ७० वर्ष पूरा गरी ७१ वर्षमा प्रवेश गरेका छन् । आगामी महाधिवेशनबाट प्रचण्ड नै नेतृत्वमा आए ७८ वर्षसम्म उनी पार्टीको कार्यकारी भूमिकामा रहनेछन् ।

उपमहासचिव हरिबोल गजुरेल अहिले नै प्रचण्डको विकल्प खोज्ने बेला भइनसकेको बताउँछन् । उनले पहिला समाजवादी विचारको विकास, पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र अहिले प्रचण्ड बराबरको सर्वमान्य नेतृत्व नभएकाले नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण नहुने उनको भनाइ छ ।

‘अहिले नेतृत्वको विकल्प खोज्ने बेला होइन । पहिला समाजवादी विचारको विकास र पार्टी निर्माण भएपछि विकल्प खोज्न सकिन्छ’, गजुरेलले भने । उनले विचारभन्दा व्यक्ति, पार्टीभन्दा गुट हाबी हुँदा समस्या आएको बताए ।


‘कतिपयलाई मेरो उमेर र स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मेरो उमेर र स्वास्थ्यको कुरा गर्नुपर्दैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन’


प्रचण्डमात्र होइन, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अझै २०–२५ वर्ष नेतृत्व हस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन् । वैशाख ९ गते नेकपा स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो उमेर र स्वास्थ्यको चिन्ता नगर्न चेतावनी दिए । पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कने सम्भावनाप्रति उनले काउन्टर जवाफ दिएका हुन् । प्रचण्ड, माधव नेपाल लगायतका नेताहरूलाई समेत जवाफ फर्काएको ओलीको अभिव्यक्तिबाट झल्किन्छ ।

‘कतिपयलाई मेरो उमेर र स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मेरो उमेर र स्वास्थ्यको कुरा गर्नुपर्दैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन’, ओलीले भनेका थिए ।

कसैले एमालेविनाको देश र केपी ओलीविनाको एमाले खोजेको भए र तिनको मनसाय राम्रो भए आफूले सरक्क छाडिदिने उनको भनाइ थियो । उनले भने, ‘एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।’

२०२८ सालको झापा विद्रोहबाट सक्रिय राजनीतिमा प्रवेश गरेका उनले १४ वर्ष जेल जीवन बिताए । २०५१ सालमा एमालेको अल्पमतको सरकारमा गृहमन्त्री भएका ओली २०६३ सालको अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका उनी २०७२, २०७४ र २०८१ गरी चार पटक प्रधानमन्त्री बन्न सफल भइसके ।

२०७७ सालमा एमाले विभाजन भएपछि २०७८ मंसिरमा चितवनको सौराहामा भएको १० औँ महाधिवेशनबाट ओली दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए । २०८३ मा हुने पार्टीको ११ औँ महाधिवेशनबाट पनि अध्यक्षमै दोहोरिने दाउमा रहेका उनले पार्टी विधानमा उल्लिखित ७० वर्षे उमेरहद सम्बन्धी व्यवस्था निलम्बन गरेका छन् । यसअघि २०७४ सालमा प्रधानमन्त्री भएपछि आफू अझै २० वर्ष सक्रिय राजनीति नछाड्ने बताएका थिए ।

ओली र प्रचण्डको अभिव्यक्ति हेर्दा दुवैले ९० को दशकसम्म पार्टी नेतृत्व नछाड्ने सङ्केत दिएका छन् । तर एमालेका मुख्य सचेतक महेश बर्तौलाले ओलीको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् । राजनीतिमा उमेरभन्दा पनि अनुभवले नेतृत्व गर्ने भएकाले सबै कुरा नकारात्मक रूपमा लिन नहुने उनले तर्क गरे ।

‘प्रधानमन्त्रीज्यूले नेतृत्वका लागि तयार रहन सन्देश दिनुभएको हो । हामी उहाँ सँगसँगै साथमा छौँ । राजनीतिमा उमेर हेरिँदैन । अनुभव र क्षमताले काम गर्छ’, रातोपाटीसँग बर्तौलाले भने, ‘उहाँले आफू ७२ वर्षको उमेरसम्म त सक्रिय छु, युवाको जस्तै जोस छ भन्नुभएको हो । त्यसको अर्थ नेतृत्वका लागि युवा पुस्ता तयार रहन सन्देश पनि हो ।’ सबै कुरालाई नकारात्मक रूपमा हेर्न नमिल्ने उनको भनाइ छ ।

यता माओवादीका युवा नेता माधव सापकोटाले पनि बर्तौलाकै जस्तो धारणा राखे । नेतृत्व लिने विषय उमेरभन्दा पनि विधि, पद्धति, विचार र दृष्टिकोण मुख्य भएको तर्क गरे ।

‘नेतृत्व हस्तान्तरण विधि र प्रक्रियाको विषय हो । यसलाई कुनै उमेर समूहले निर्धारण गरिँदैन । मुख्य कुरा विचार, पद्धति र दृष्टिकोण हो । अहिले म पदाधिकारीमा समेत छैन, एकैपटक अध्यक्ष दाबी गरेर त हुँदैन नि ! त्यसको पनि प्रक्रिया होला,’ उनले भने ।

यद्यपि विधि र पद्धतिको विषयमा आगामी महाधिवेशनमा छलफलको विषय बन्ने सापकोटाले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here