६ महिनापछिको नेतृत्व जोडिएपछि एआईजी बढुवामा रस्साकस्सी

१५ दिनदेखि प्रहरीका ६ विभाग खाली

लामो समयसम्म प्रहरीका उच्च पदहरु खाली हुँदासमेत एआईजी बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।

२४ चैत, काठमाडौँ । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को ६ दरबन्दी खाली भएको १५ दिन बित्यो । ४ चैत राति १२ बजेबाट एआईजीहरु टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएपछि पाँच एआईजीको दरबन्दी खाली भएको हो ।

frontline

उनीहरुसँगै प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर पनि अवकाशमा गए । रिक्त आईजी पदमा एआईजी दीपक थापाको बढुवा भयो । थापाको ठाउँमा समेत एआईजी खाली भएसँगै प्रहरीमा रिक्त एआईजीको संख्या ६ पुगेको छ ।

६ एआईजीको दरबन्दी रिक्त भएको १५ दिन पूरा भइसकेको छ । तर अहिलेसम्म एआईजी बढुवाका लागि सिफारिस हुन सकेको छैन । नेपाल प्रहरीमा अहिले दुई मात्रै एआईजी छन् । जसमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुदीप गिरी छन् ।

नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ एआईजीको दरबन्दी छ । तर ६ वटा विभाग भने अहिले एआईजीविहीन छन् । जसमा, मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) एआईजीविहीन छन् ।

लामो समयसम्म प्रहरीका उच्च पदहरु खाली हुँदासमेत बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।

एआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वको बढुवा सिफारिस समिति रहने व्यवस्था छ । प्रहरी नियमावली २०७१ को दफा २७ (१) को (क) अनुसार बढुवा सिफारिस समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव (सदस्य) र प्रहरी महानिरीक्षक (सदस्य सचिव) रहने व्यवस्था छ ।

तर, यो बढुवा सिफारिस समितिले अहिलेसम्म एआईजीको बढुवाको गृहकार्य गरेर सिफारिस प्रक्रिया अघि बढाउन सकेको छैन ।

५ चैतमा गृहमन्त्रालय सिंहदरबारमा आईजीको दर्ज्यानी चिह्न लगाएपछि बढुवा न्यायोचित बनाउने उद्घोष दीपक थापाले गरेका थिए । कार्यक्षमताको उचित मूल्यांकन गरिने बताउँदै उनले वृत्ति, विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै प्रकारको दुखः पीडा भोग्न नपरोस् भन्नेतर्फ हरदम सजग रहने उनको भनाइ थियो ।

‘पहुँचको हैन, पद्धतिको थिति बसाल्न हर-हमेशा प्रयत्नशील रहन्छु’ उनले भनेका थिए ।

तर, शक्तिकेन्द्रको पहुँचकै कारण अहिलेसम्म एआईजी बढुवा गर्न नसकिएको प्रहरी अधिकारीहरुको बुझाइ छ । ‘एक त माथिल्लो तहको बढुवा भयो । अर्कोतर्फ भने नेतृत्वसम्म पुग्ने भएकाले बढुवामा निकै सकस भएको देखिन्छ,’ आईजीकै सचिवालयका एक अधिकारी भन्छन् ।

यो पनि पढ्नुहोस

छिटो जाउँ, जानै हुन्न : प्रहरीमा रविले भित्र्याएको ‘अटोमेसन’ बहस

दुई महिने आईजीको सम्भावित रेखा कोर्ने एआईजी बढुवा

अहिले एआईजी बढुवामा ढिलासुस्ती हुनुमा भावी आईजीको साइनोसम्म जोडिएको छ । विद्यमान प्रहरी नियमावलीअनुसार आगामी १८ भदौ २०८२ को गते राति १२ बजेबाट आईजी दीपक थापा अनिवार्य अवकाशमा जान्छन् ।

त्यस्तो अवस्थामा ६ महिनापछि बन्ने आईजीको सम्भावित ढोकासमेत अहिलेको एआईजी बढुवा खोल्नेछ । त्यतिमात्रै होइन, ६ महिनापछि २ महिनाका लागि आईजी भन्ने र त्यसपछिको आईजी को बन्ने भन्नेसम्म अहिलेको बढुवाले धेरै अर्थ लाग्छ । जसका कारण एआईजी बढुवालाई शक्तिकेन्द्रले पनि आफू अनकूल हेरेको छ ।

एआईजीको बढुवामा सीआईबीमा कार्यरत डीआईजी चन्द्रकुवेर खापुङ, मधेश प्रदेशमा कार्यरत लालमणि आचार्य, बागमती प्रदेशमा कार्यरत कृष्णहरि शर्मा मुख्य प्रतिस्पर्धामा छन् ।

अहिले एआईजी बढुवामा ढिलासुस्ती हुनुमा भावी आईजीको साइनोसम्म जोडिएको छ । विद्यमान प्रहरी नियमावलीअनुसार आगामी १८ भदौ २०८२ को गते राति १२ बजेबाट आईजी दीपक थापा अनिवार्य अवकाशमा जान्छन् ।

उनीहरु २७ कात्तिक २०५२ मा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीहरु हुन् । एआईजी बढुवाको दाबेदार रहेका खापुङ र आचार्य २० चैत २०७९ मा डीआईजी बढुवा भएका थिए । शर्मा भने गत जेठमा डीआईजी बनेका थिए ।

आचार्य भने एआईजीमा बढुवा भए पनि ५६ वर्षे उमेरहदका कारण उनी यसअघि नै अवकाशमा जाने भएकाले उनी आईजीको प्रतिस्पर्धामा रहँदैनन् । यो ब्याचका बाँकी दुई जना खापुङ र शर्मा एआईजीमा बढुवा भएको अवस्थामा उनीहरुमध्येबाट एक जना (१९ भदौदेखि २६ कात्तिकसम्म) दुई महिनाका लागि आईजी बन्ने बाटो खुल्छ । जसका कारण पनि उनीहरु अहिले जसरी पनि पहिलो नम्बरमै बढुवा हुने लबिइङमा छन् ।

खापुङ र शर्मामध्ये एक जनामात्रै अहिले एआईजीमा बढुवा भएको अवस्थामा उनैलाई दुई महिनाका लागि आईजी बन्ने बाटो खुल्नेछ ।

८ महिनापछिको प्रहरी नेतृत्वमा पुग्ने कसरत

खापुङ र शर्मामध्ये एक जना दुई महिना आईजी भए पनि त्यसको प्रहरी नेतृत्वसम्म अहिलेको एआईजी बढुवाले प्रभाव राख्छ । उनीहरु तीन बाहेक एआईजी बढुवामा लुम्बिनी प्रदेशनका डीआईजी दानबहादुर कार्की, प्रहरी एकेडेमीमै कार्यरत रहेका डा मनोज केसी, कोशी प्रदेश प्रहरी प्रमुख राजन अधिकारी, विशेष ब्यूरो प्रमुख सिद्धिविक्रम शाह, प्रशासन विभागमा रहेका सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक एआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

४ जेठ २०८१ मा कार्की, केसी र अधिकारी डीआईजी बढुवाका लागि सिफारिस भएका थिए । उनीहरु तीनै जना १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

त्यतिबेला उनीहरुभन्दा सिनियर ब्याच (५ पुस २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका) का शाह, राठौर, चतुर्वेदीलगायत बढुवामा छुटेका थिए । उनीहरु इन्स्पेक्टरमा एक वर्ष सिनियर र एसपी, एसएसपीमा पनि वरीयतामा अगाडि थिए ।

यो पनि पढ्नुहोस

दुई ब्याच उछिनेर डीआईजी बढुवा, राष्ट्रिय अनुसन्धानबाट आएको टोली नै छुट्यो

२०५३ को यो टोली भने ९ मंसिर २०८१ मा बल्ल डीआईजी बढुवामा सिफारिस भएको थियो । अहिले भने डीआईजी बढुवामा आफूहरुमाथि भएको अन्याय एआईजी बढुवामा सच्याउनुपर्ने भन्दै यो टोली अधिकृतहरु दौडधुपमा छन् ।

यता, २०५४ को टोली भने डीआईजीमा आफूहरु सिनियर भएको तर्क राख्दै बढुवा हुने लबिइङमा छन् । अहिले मुख्य प्रतिस्पर्धा २०५३ र २०५४ को यही टोलीबीच भएकाले बढुवा सिफारिस हुन नसकेको हेडक्वार्टर स्रोत बताउँछ ।

जसका कारण रिक्त ६ जनाभित्र पनि अग्र स्थानमा रहेर बढुवा हुन यी दुई टोलीका अधिकृतहरु लबिइङमा छन् । यी दुई ब्याचमध्ये एक ब्याचले अगामी २६ कात्तिक २०८२ बाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

२०५३ मा राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर भर्ना भएर प्रहरीमा स्थानान्तरण भएर आएको टोलीका प्रहरी अधिकृत अहिले एआईजी बढुवा हुँदै आगामी कात्तिकमा आईजी भएको अवस्थामा २०५४ का टोलीहरुको पनि आईजी बन्ने बाटो खुला नै रहन्छ । २०५३ को टोलीबाट आईजी भएमा ४ पुस २०८३ सम्म नेतृत्वमा रहन्छन् ।

त्यसपछि २०५४ को टोलीमध्येबाट एक जनाले १७ चैत २०८४ सम्म प्रहरी नेतृत्व सम्हाल्ने मौका पाउँछन् ।

यसका साथै एआईजी बढुवामा २६ पुस २०८१ मा डीआईजी बढुवा भएकाहरु पनि प्रतिस्पर्धामा लागेका छन् । इन्स्पेक्टरमा सँगै भर्ना भएको र डीआईजीमा छुटाइएको भन्दै उनीहरु लबिइङमा छन् । २६ पुसमा डीआईजी बढुवा हुनेहरुमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here