६ क्षेत्रमा राप्रपाको फराकिलो अग्रता
६ मंसिर, काठमाडाैं । पूर्वपञ्चको पार्टी राप्रपाले यसपकटको निर्वाचनमा राम्रो प्रदर्शन गरिरहेको छ । प्रारम्भिक मतगणनाको रुझानले राप्रपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५ देखि ६ सिटसम्म जित्ने संकेत देखिएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले झापा–३ बाट अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कृष्ण सिटौलालाई उनले पछि पारेका छन् ।
लिङदेनले ८ हजार ७३४ मत पाउँदा सिटौला ६ हजार ५५३ मतसहित प्रतिस्पर्धा गरिरहेका छन् । २०७४ सालमा पनि लिङ्देनले सिटौलालाई पराजित गरेका थिए ।
चितवन–३ बाट राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ५ हजार ७ सय २५ मत पाउँदा स्वतन्त्र पार्टीकी जीता वरालले ४ हजार ४ सय मत पाएकी छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारी तेस्रोमा छन् । उनले ४ हजार २९० मत पाएका छन् ।
पटक–पटक चुनाव जितेका नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई पछि पार्दै राप्रपाका ध्रुबबहादुर प्रधानले पश्चिम नवलपरासीबाट अग्रता लिएका छन् । नवलपरासी पश्चिम–२ बाट प्रधानले ६ हजार ८९७ मत पाउँदा कँडेलको २ हजार २६३ मत छ ।
एमालेका दीपेन्द्रकुमार अधिकारीले १ हजार ५२५ मत प्राप्त गरेका छन् ।
रुपन्देही–३ मा राप्रपा उपाध्यक्ष दीपक बोहोराले गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाणसँग टक्कर लिइरहेका छन् । बोहोराले खाणलाई पछि पारिरहेका छन् ।
बोहोराले ५ हजार ६५७ मत पाउँदा खानले ४ हजार ९१० मत मात्रै पाएका छन् ।
बाँके–२ मा महामन्त्री धवल शमशेर जबराले अग्रता बढाइरहेका छन् । धवलले १३ हजार ३५५ मत ल्याउँदा जसपाका मोहमद इस्तियाक राइले ८ हजार ५५९ मत पाएका छन् ।
जुम्लामा ज्ञानेन्द्र बहादुर शाहीले ६ हजार ९५७ मतसहित अग्रता लिइरहेका छन् । काठमाडौं–१ मा रवीन्द्र मिश्र झिनो मतले हारेका छन् ।
अग्रता लिन नसके पनि काठमाडौं–२ मा पनि राप्रपा उम्मेदवार कुन्ती शाहीले राम्रो प्रदर्शन गरिरहेकी छिन् ।
कमल थापालाई अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङदेन अध्यक्ष बनेपछि पूर्वपञ्चको पार्टीले पुर्नजीवन पाएको छ । राप्रपाले समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटाउने संकेत गरेको छ ।
त्रिशंकु संसद बन्ने अबस्थामा सत्ता समीकरणका लागि राप्रपा निर्णायक बन्ने संकेत देखिएको छ । भ्रष्टाचारविरुद्ध दिएको अभिव्यक्तिका कारण लिङदेन चर्चामा छन् ।
प्रतिक्रिया दिनुहोस्